शुक्रबार, पुस ४, २०८२

व्यापारीले बगानबाटै उठाउँछन् देउपुरका सुन्तला

 |  बिहीबार, पुस ११, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ११, २०८१

पर्वत- सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ।

National life

यहाँ काठमाडौँ, पोखरा, नारायणगढदेखि बुटवलबाट व्यापारीहरू बगानमै सुन्तला किन्नका लागि आउने गरेका छन्। मोदी गाउँपालिका–२ देउपुरमा चार वर्षअघिसम्म सहकारीमार्फत बिक्री गर्दै आए पनि पछिल्ला  वर्षहरूमा भने कृषकले आफ्नै ढङ्गले व्यापारीसँग कारोबार गर्ने गरेका छन्। पहिले माछापुच्छ्रे सुन्तला सहकारी संस्थामार्फत बिक्री गरे पनि अहिले निजी हिसाबले नै बिक्री गर्न थालेका अगुवा कृषक दाताराम चापागाईंले जानकारी दिए।

सुन्तला टिप्नका लागि व्यापारीका प्रतिनिधिहरूको चहलपहल बढ्दो छ। स्थानीय शिक्षक भूमिराज शर्मा सुन्तला टिप्ने र लैजानेहरूका कारण यहाँ मेला लागे जस्तै हुने गरेको र थोक व्यापारीले बगैँचाबाट नै खरिद गरेपछि कृषकलाई पनि सहज भएको बताउँछन्।

‘देउपुरका धेरैजसो सुन्तला यसपटक पोखरा पुगेका छन्। केही नारायणगढ, काठमाडौँ र बुटवल तथा स्थानीय बजारमा बिक्री हुने गर्छन्’, उनले भने।

यहाँका किसानमध्ये स्थानीय ख्यामराज पौडेलले सुन्तला बिक्रीबाटै राम्रो आम्दानी गर्छन्। उनले गत वर्ष रु पाँच लाखको सुन्तला बिक्री गरेका थिए। एक वर्ष बढी उत्पादन भयो भने अर्को वर्ष कम उत्पादन हुने भएकाले यसवर्ष केही कम कारोबार हुने उनको भनाइ छ।

Laxmi sunrise bank
kumari

यहाँका अधिकांश किसानले व्यापारीलाई बगैँचा नै जिम्मा लगाउने गरेका छन्। यहाँका सबै किसानको कारोबारको कुरा गर्दा गतवर्ष करिब रु पाँच करोडका सुन्तला बिक्री भएका थिए। यसपटक पनि सोही हाराहारीमा कारोबार हुने अपेक्षा गरेका छन्। व्यवसायीले बगैँचामै ‘ग्रेडिङ’ गरेर सुन्तला लैजान थालेको कृषक दाताराम चापागाईंले बताए।

विगत दुई दशकदेखि गरिएको व्यावसायिक सुन्तला खेतीबाट यहाँका कृषकले मनग्य आम्दानी गर्दै आएका छन्। परम्परागत रूपमा कोदो र मकै लगाउने गरेका यहाँका कृषकहरूले सुन्तलाखेती गरेपछि जीवनस्तरमा समेत परिवर्तन आएको बताउन थालेका छन्।

यहाँका एक सय ६० भन्दा बढी कृषक अन्य खेती छाडेर व्यावसायिक सुन्तलाखेतीमा लागेका हुन्। गाउँमा पक्की मोटरबाटोको सुविधा पुगेपछि सुन्तला खेतीतर्फ थप आकर्षण बढ्दै गएको छ।

प्रकाशित: Dec 26, 2024| 09:31 बिहीबार, पुस ११, २०८१
प्रतिक्रिया दिनुहोस्