काठमाडौं- स्थानीय स्तरमा उपलब्ध कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योगहरुको क्षमता बढाउन सहज वित्तीय पहुँच आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन्। साना उद्योगहरुलाई गतिशील बनाउन सके मात्रै मुलुकमा भयावह बन्दै गएको व्यापारघाटा न्यूनीकरण गर्न सकिने उनीहरुको भनाइ छ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसिएसआई) र एनएमबी बैंकको सहकार्यमा राजधानीमा भएको कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले मुलुकको आर्थिक पाटोलाई समृद्घ बनाउन जोड दिए। उनले साना उद्योगको क्षमता सहज बैंकिङ पहुँचसँग जोडिएको बताए। ‘उद्यमीलाई कसरी प्रोत्साहन गर्ने र बैंकसँग सहज पहुँच बनाउने भन्ने कुराको समाधानका लागि कार्यक्रम आयोजना गरिएको हो,’ उनले भने ‘साना उद्योगीहरुको हकहित संरक्षणका लागि महासंघको स्थापना गरिएको हो।’
उनका अनुसार उद्योगीहरुका लागि विभिन्न किसिमका सहुलियत र सुविधायुक्त बैंकिङ योजना छन्। त्यसका बारेमा उद्योगीहरुलाई थाहा छैन। यस्तै कुराको विस्तृत जानकारी दिन वित्तीय साक्षरता कार्यक्रम शुरु गरिएको हो।
एनएमबी बैंकका प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरेले बैंकले बैंकले लघु, घरेलु तथा साना उद्योगका क्षेत्रमा प्राथमिकताका साथ लगानी गरिरहेको बताए। व्यवसाय अनुशासित भएमा बैंकबाट लगानीको समस्या नहुने उनको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४