वीरगंज- कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) को आयोजनामा पहिलो पटक सूचना प्रविधी मेला आयोजना हुने भएको हो।
क्यानले यही पुस २७ गतेदेखि ३० गतेसम्म चारदिने ‘सुबिसु क्यान इन्फोटेक मेला २०७५’आयोजना गर्न लागिएको जानकारी दिएको छ।
क्यानका जिल्ला अध्यक्ष आलोक चौरसियाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश २ लाई सूचना प्रविधीको हब बनाउने दीर्घकालीन योजना अनुरुप क्यानले काम गरिरहेको बताए।
करिब ५० लाख रुपैयाँ लगानीमा नगर गृहसभामा आयोजना हुने मेलाको सम्पूर्ण तयारी भइसकेको अध्यक्ष चौरसियाले जानकारी दिए। मेलामा आइटीसम्बन्धी विभिन्न ७० वटाभन्दा बढी स्टल राखिनेछन्।
काठमाडौंपछि दोश्रो स्थानका रूपमा क्यानले आइटीसम्बन्धी ठूलो मेलाको आयोजना गर्न लागेको हो। प्रदेश सरकार र स्थानीय तहका प्रतिनिधिले परिकल्पना गरेको स्मार्ट सिटीका आधारभूत पूर्वाधारलाई मध्यनजर गर्दे क्यानले आइटी मेलाको आयोजना गरेको सम्मेलनमा बताइएको छ।
मेलामा प्रमुख आकर्षणका रूपमा रोबोट, हार्डवेयर स्टल, सफ्टवेयर, थ्रिडी सो, भर्चुअल रियलिटी सो, स्मार्ट फोन, मोबाइल फोन, इन्टरनेट, अल्ट्रानेट र बच्चाका लागि प्लानिटेरियमलगायत आधुनिक युगमा विकसित तथा अपडेटेड प्रविधिको प्रदर्शनी हुनेछ।
इन्फरमेसन, कम्युनिकेसन र टेक्नोलोजी क्षेत्रमा भएका पछिल्ला विकासबारे उपभोक्ताले यस मेलामार्फत प्रत्येक दिन फरक खालका जानकारी पाउन सक्ने दाबीसमेत अयोजकले गरेको छ।
मेलामा सूचना प्रविधी इन्जिनियर तथा विशेषज्ञ र संघीय सांसददेखि जनप्रतिनिधिबीच आइटीको प्रयोगलाई अगाडि बढाउने र सफ्टवेयर विकासबारे अन्तरकृयात्मक कार्यक्रमसमेत आयोजना गरिने क्यान पर्साका उपाध्यक्ष प्रशान्त कुमारले जानकारी दिए।
मुनाफाका लागि नभई आइटीसम्बन्धी जनचेतना फैलाउनका लागि आयोजना गर्न लागिएको मेलामा सहभागीले एकैथलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ उपकरण अवलोकन तथा खरिदसमेत गर्न पाउने व्यवस्था मिलाइएको क्यानका उपाध्यक्ष प्रशान्त साहले बताए।
करिब एक लाखभन्दा बढीले मेलाको अवलोकन गर्ने आयोजकको अनुमान छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४