बुधबार, माघ २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

रूखले किचेर खोटाङमा एक जनाको मृत्यु

 |  मंगलबार, मंसिर २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २५, २०८१

ntc landingntc landing

खोटाङ- गोलिया काठ काट्ने क्रममा रूखले किचेर हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित ढाडगाउँका १८ वर्षीय मिलन दमाईको मृत्यु भएको छ।

himalayan bank box

रावाबेंसी गाउँपालिका–२ खार्पाका कमलबहादुर सार्कीको भडाँरेस्थित निजी वनमा रहेको रूखबाट गोलिया काठ काट्ने क्रममा मौवाको सुकेको रूख ढलेर किच्दा सोमबार मिलनको घटनास्थलमै मृत्यु भएको हो। गोलिया काठ संकलन गरिरहेका वेला नजिकै रहेको मौवाको सुकेको रूखले किच्दा मिलनको मृत्यु भएको रावाबेंसी–२ का वडाध्यक्ष डोलराज बस्नेतले जानकारी दिए।

‘मृतक दमाई हप्ता दिनअघि यहाँ काम गर्न आएका हुन्। ज्यालादारी कामका लागि आएका निजको रूखले किचेर मृत्यु भएको जानकारी प्राप्त भएको छ’, उनले भने, ‘मृत्युको खबर पाएपछि प्रहरीलाई जानकारी गरायौं। जिल्लाबाट प्रहरी टोली आएर मुचुल्का उठाएपछि शव परीक्षणका लागि जिल्ला पठाइएको छ।’

रूखले किचेर दमाईको मृत्यु भएको खबर स्थानीयले दिएपछि सोही आधारमा घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मोहन पोखरेलको नेतृत्वमा खटिएको टोलीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

खार्पास्थित भडाँरेमा एक हप्ता दिन अघिदेखि गोलिया काठ निकासीका लागि निजी वनका रूख काट्ने काम भइरहेको स्थानीयले बताएका छन्। १० स्थानीय तह रहेको जिल्लाबाट स्थानीयको निजी वनका रूख काटेर ठेकेदारले तराईका विभिन्न जिल्लामा गोलिया काठ निकासी गरिरहेका छन्।

प्रकाशित: Dec 10, 2024| 07:54 मंगलबार, मंसिर २५, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्