आइतबार, मंसिर २८, २०८२

वर्षेनि ५ करोडको सुन्तला कारोबार गर्छन् फणिनारायण

 |  आइतबार, मंसिर २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २३, २०८१

स्याङ्जा- यहाँका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण अर्यालले बर्सेनि पाँच करोड रूपैयाँसम्म सुन्तालाको कारोबार गर्दै आएका छन्। जिल्लाको अर्जुनचौपारी गाउँपालिका-१ थापाथोकमा त्रिपुत्र बागवानी कृषि फार्ममार्फत उनले बर्सेनि करोडौँको सुन्तलाको कारोबार गर्दै आएका हुन्।

National life

अर्यालले आफ्नै बगैँचामा उत्पादन गरेको सुन्तला र अन्य किसानबाट खरिद गरेर ल्याएको सुन्तला बिक्रीबाट यसवर्ष पनि पाँच करोड रूपैयाँभन्दा बढी कारोबार हुने अनुमान गरिएको बताए। उत्पादन बढी हुँदा र बजार मूल्य राम्रो भएको अवस्थामा वार्षिक पाँच करोड रूपैयाँसम्मको करोबार हुने उनले जानकारी दिए।

'आफ्नै फार्ममा उत्पादन भएको सुन्तला र अरु किसानबाट खरिद गरी बिक्री गर्दै आइरहेको छु', अर्यालले भने, 'सुन्तला खरिद बिक्रीबाट यसवर्ष पाँच करोड रूपैयाँको कारोबार हुने अनुमान छ।' गतवर्ष चार करोड रूपैयाँ बराबरको कारोबार भएको भन्दै यसवर्ष उत्पादनमा वृद्धि हुनुका साथै बजार मूल्य राम्रो भएकाले कारोबार बढ्ने दाबी गरे।

सुन्तला बिक्रीबाट जिल्लामा सबैभन्दा बढी आम्दानी गर्ने व्यवसायीका रूपमा अर्याल परिचित छन्। उनले ८० रोपनी क्षेत्रफलमा दुई हजार दुईसय सुन्तलाका बिरुवा लगाएका छन्।

व्यवसायी अर्यालले प्रचलित बजार मूल्यमा स्थानीय किसानसँग सुन्तला खरिद गरेर बजारीकरण गर्दै आएका छन्। 'प्रचलित बजार मूल्य अनुसार किसानसँग खरिद गर्दै आएको छु', उनले भने, 'आफूले उत्पादन गरेको सुन्तला र अन्य किसानबाट खरिद गरेको सुन्तला काठमाडौं, पोखरा, नारायणगढ, काँकडभित्ता, भारतको सिलगुडीलगायत बजारसम्म पुग्ने गर्दछ।'

Laxmi sunrise bank
kumari

सुन्तलाको याममा अर्यालले सञ्चालन गर्दै आएको फार्ममा ४० देखि ६० जनाले प्रत्यक्ष रोजगारी पाउने गरेका छन्। सुन्तला टिप्ने, ग्रेडिङ गर्ने, ढुवानी गर्ने, बजारीकरण गर्नेलगायत काममा स्थानीयले रोजगारी पाएका उनले बताए। गत वर्ष कामदारलाई १७ लाख रूपैयाँ पारिश्रमिक भुक्तान गरेको उनले जानकारी दिए।

यहाँ उत्पादित सुन्तलाको बजारीकरणका लागि फार्ममार्फत अर्यालले गत वर्षदेखि भाटभटेनी सुपर मार्केटसँग सम्झौता गरेका छन्। नेपालमा पहिलो पटक सुन्तलाको ‘ग्रेडिङ’ गर्न उपकरण जडान गरिएको उनको भनाइ छ। उक्त उपकरणबाट विभिन्न आठ आकारका सुन्तला ग्रेडिङ हुने बताउँदै ग्रेडिङका आधारमा सुन्तलाको मूल्य निर्धारण गरी बजार पठाउने उनले जानकारी दिए। रासस

प्रकाशित: Dec 08, 2024| 18:31 आइतबार, मंसिर २३, २०८१
प्रतिक्रिया दिनुहोस्