बुधबार, साउन १३, २०८३

किन घट्यो अलैंची र जुत्ताचप्पल निर्यात ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- निर्यातको प्राथमिकतामा राखिएको नेपाल व्यापार एकीकृत ‘एनटिआइएस’ अन्तर्गतका अलैंची, छाला र जुत्ताचप्पल निर्यात घटेको छ। सरकारले आयात प्रतिस्थापन गर्ने भन्दै व्यापार कम गर्ने वाणिज्य नीति लिएर ०७२ सालमा नेपाल व्यापार एकीकृत ‘एनटिआइएसमा’ विभिन्न कृषि तथा सेवाका वस्तुहरु समेटेको थियो। ती वस्तुमध्ये अलैंची, छाला र जुत्ताचप्पल निर्यात चालु आवको पाँच महिनामा घटेको छ। 

एनटिआइएसअन्तर्गत कृषिजन्य उत्पादनमा अलैंची, अदुवा, चिया, जडीबुटी उत्पादन समेटिएको छ। त्यस्तै उत्पादनमूलकमा फेब्रिक, लेदर, फुटवेयर, कार्पेट, गलैंचा समावेश छन्।

एनटिआइएसको कार्यक्रममा तुलनात्मक लाभ भएका वस्तुको प्रतिस्पर्धी क्षमता वृद्धि गर्ने कार्यक्रममा सेवा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने, पर्यटन सूचनामूलक क्षेत्र प्रभावकारी बनाउने कार्यक्रमलगायत विभिन्न १२ किसिमका वस्तु समेटिएका छन्।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सार्वजनिक गरेको तथ्यांकअनुसार  पछिल्लो समय एनटिआइएसका केही वस्तुको निर्यात घटेका छन्। चालू आर्थिक वर्ष ०७५÷७६ को पाँच महिना अवधिमा अघिल्लो वर्षको सोही अवधिमा भन्दा अलंैची २३, छाला ५४ र छालाजुत्ता निर्यात २४ प्रतिशतले घटेको छ।

गत वर्ष पाँच महिना अवधिमा एक अर्ब ६२ करोड रुपैयाँको अलैँची विभिन्न मुलुकमा निर्यात भएको थियो। तर यस वर्षको सोही अवधिमा एक अर्ब २३ करोड रुपैयाँको मात्रै निर्यात हुन सकेको छ।

त्यस्तै गएको आवको पहिलो पाँच महिनामा ३६ करोड २० लाखको छाला र ६३ करोड ३८ लाखको जुत्ताचप्पल निर्यात भएकोमा चालु आवको सोही अवधिमा क्रमशः १६ करोड ४७ लाख र ४८ करोड नौ लाख रुपैयाँको निर्यात भएको छ।

अदुवा, चिया, औषधिजन्य पदार्थ, सबै फेब्रिक, टेक्स्टायल, धागो, पस्मिना, कार्पेटलगायतको निर्यात भने ७ प्रतिशतले बढेको छ। चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले अझै पनि समयसमयमा भारतले अवरोध गर्ने भएकाले स्वतन्त्र रुपमा निर्यात हुन नसकेको बताए। ‘एनटिआइएसका वस्तुहरुलाई भ्यालुएड गरी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन आवश्यक छ,’ उनले भने, ‘तर तीन वर्षअघि एनटिआइएस घोषणा भए पनि अपेक्षाकृत प्रगति हुन सकेको छैन।’

अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले पछिल्लो समय अलैंचीको मूल्य घटेका कारण कम निर्यात भएको बताए। ‘केही वर्षअघि क्विटेलको एक लाख १५ हजार रुपैयाँसम्म पुगेको अलैँची अहिले घटेर ८० हजार रुपैयाँमा झरेको छ,’ उनले भने, ‘त्यस कारणले पनि अहिलेसम्म २५ प्रतिशत मात्रै अलैँची निर्यात भएको छ। अझै ७५ प्रतिशत निर्यात हुन बाँकी छ।’ 

नेपाल छाला जुत्ता तथा वस्तु उत्पादक संघका पूर्वअध्यक्ष होमनाथ उपाध्यायले विगतमा भारतले गरेको नकाबन्दी, भूकम्प, भारु नोट प्रतिबन्ध, जिएसटीलगायतका कारण नेपाली वस्तुहरुको भारत निर्यातमा प्रभाव परेको बताए।

पछिल्लो समय भारतमा निर्यात हुने जुत्ताचप्पल घटेको उनको भनाइ छ। ‘अघिल्लो आव ०७३÷७४ मा साढे दुई अर्ब रुपैयाँको जुत्ताचप्पल निर्यात भएकोमा गत वर्ष ०७४÷७५ मा सवा अर्ब रुपैयाँ मात्रै पुगेको छ,’ उनले भने, ‘नेपालबाट जुत्ताचप्पल भारतमा निर्यात हुने हो। भारतमा आउने नयाँ नीतिका कारण नेपालको बजारमा प्रभाव पर्ने गरेको छ।’

व्यापार घाटा साढे ६ खर्ब, ३६ प्रतिशत बढ्यो

केन्द्रको तथ्यांकअनुसार गत पाँच महिनामा मुलुकको व्यापार घाटा पाँच खर्ब ६९ करोड रुपैयाँ पुगेको छ। चालु आवको पाँच महनिामा ६ खर्ब ६ अर्ब रुपैयाँका विभिन्न वस्तु आयात भएकोमा निर्यात भने ३७ अर्ब ५० करोड रुपैयाँ भएको छ। 

त्यस्तै यो वर्ष गत वर्षभन्दा मुलुकको व्यापार घाटा ३६.११ प्रतिशत बढेको छ। गत आर्थिक वर्ष ०७४-०७५ को सोही अवधिको व्यापार घाटा चार खर्ब १८ अर्ब रुपैयाँ थियो।

यो पाँच महिनामा विभिन्न मुलुकसँगको व्यापार ३३ प्रतिशत बढेको छ। गत आवमा चार खर्ब ८५ अर्ब रुपैयाँको भएकोमा यो वर्ष बढेर ६ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको हो। जसमा निर्यातभन्दा अयात १६ गुणा बढी छ। आयातको हिस्सा ९४ प्रतिशत छ भने निर्यातको हिस्सा मात्रै ६ प्रतिशत छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्