एजेन्सी- इटालियन सिरी ए अन्तर्गत बुधबार राति एटलान्टाविरुद्धको खेलमा पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रानाल्डोई बेन्चमा रखिएको थियो । प्रशिक्षक मासिमिलानो एलेग्रीले उनलाई च्याम्पियन्स लिगका लागि प्राथमिकतामा राख्दै बेन्चमा राखेका थिए ।
तर, खेल दौरान युभेन्ट्स पछि परेपछि प्रशिक्षक एलेग्रीले रोनाल्डोलाई मैदान पठाउन बाध्य भए । रोनाल्डो बिना मैदान प्रवेश गरेको युभेन्ट्सले नै खेलमा सुरुवाती अग्रता लिएको थियो ।
युभेन्ट्सले खेलको दोस्रो मिनेटमा नै एटलान्टाका बेराट जिम्सितीको आत्मघाती गोलबाट सुरुवाती अग्रता लिएको थियो । खेलको २४ औं मिनेटमा दुभान जपाताले एटलान्टाका लागि बराबरी गोल फर्काए ।
उनले पापु गोमेजको पासलाई सदुपयोग गर्दै बराबरी गोल फर्काएका थिए । पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा युभेन्ट्स १० खेलाडीमा समेटियो ।
दोस्रो हाफको ५३ औं मिनेटमा युभेन्ट्सका रोड्रीगो बेन्टान्कुरले दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरीपछि युभे समस्यामा परेको थियो । युभेन्टस १० खेलाडीमा समेटिएको तीन मिनेट नबित्दै एटलान्टाले अग्रता लियो ।
गोमेजकै क्रसमा जपताले गोल गर्दै घरेलु टोली एटलान्टालाई २-१ को अग्रता दिलाए । त्यसपछि युभेन्ट्स झनै संकटमा पर्यो । लिगमा अपराजित युभेन्ट्सले आफ्नो यात्रा कायमै राख्न घरेलु टोलीलाई रोक्नै पर्ने थियो ।
घरेलु टोलीलाई रोक्न कुनै उपाए नदेखे पछि प्रशिक्षक एलेग्रीले रोनाल्डोलाई विकल्पको रुपमा लिए । त्यसपछि एलेग्रीले खेलको ६५ औं मिनेटमा सामी खेडिराको स्थानमा रोनाल्डोलाई मैदान पठाए ।
बेन्चमा बसेका रोनाल्डोले मैदान प्रवेश गरेको १३ मिनेटमा नै गोल गर्दै टोलीलाई पराजित हुनबाट रोके । उनले ७८ औं मिनेटमा मारियो मान्जुकीचको पासमा उत्कृष्ट गोल गर्दै टोलीको अपराजित यात्रालाई निरन्तरता दिलाए ।
रोनाल्डोले लिगका १८ खेलमा १२ गोल गरे । यस बराबरीसँगै टोलीले १८ खेलमा १६ जित र २ बराबरीसँगै ५० अंक जोडेको छ । युभेन्ट्सले शनिबार साम्पडोरियासँग खेलेपछि इटालियन लिगमा तीन साता जाडो विश्राम हुनेछ ।
युभेन्ट्सले इटालियन सुपर कपको खेलमा मिलानको सामना गर्दै विश्रामपछि खेलमा फर्कनेछ । जनवरी १६ मा हुने खेल साउदी अरेबियामा हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४