काठमाडौं - आज कवि भूपीको ८३ औं जन्म जयन्ती। व्यंग्य कवि, क्रान्तिकारी कवि र जनताका कवि भनेर नेपाली कविता फाँटमा उचाइ बनाएका भूपी शेरचनका कविता सरल छन् तर व्यङ्ग्यात्मक छन्।
समाजमा कम महत्त्व दिइने तर मार्मिक विषयलाई टपक्क टिपेर काव्यिक स्वरूप दिने भूपीका हामी, मेरो चोक, घुम्ने मेचमाथि अन्धो मान्छे, घन्टाघर, सहिदहरूको सम्झनामा जस्ता कविता निकै सान्दर्भिक, सामयिक र मर्मस्पर्शी छन्।
‘शेरचन आधुनिक कविताका एक जन्मदाता हुन्’, वरिष्ठ कवि श्रवण मुकारुङले भने, ‘आधुनिक कवितामा गोपालप्रसाद रिमाल, भूपी शेरचन, बैरागी काइँला र मोहन कोइराला हाम्रा स्कुल हुन्।’
हरेक सफल कविसँग आफ्नो धार निर्माण गर्ने क्षमता हुने जानकारी दिँदै मुकारुङले शेरचनमा पनि त्यस्तै क्षमता रहेको बताए। कवि शेरचनले समाजमा व्याप्त बेमेल कवितामा सरल रूपमा उतारेका छन्।
वरिष्ठ कवि तुलसी दिवसलाई शेरचनसँग बिताएका प्रत्येक पल ताजै लाग्छन् अझै। उनी भन्छन्, ‘शेरचन मिलनसार थिए। उनी हास्यव्यंग्य गर्थे। त्यसैले सबैका प्रिय थिए। सधै प्रफुल्लित मुद्रामा रहनु उनको विशेषता थियो।’
भूपि पहिले नाटक लेख्थे। उनी पछि मात्रै गद्य कवितामा केन्द्रित भएका हुन्। दिवस भन्छन्, ‘ उनका कविता अग्लाइ र गहिराइभन्दा विस्तारित हुन्थे। त्यसैले उनलाई स्थापित पनि गरायो।’ दिवसका अनुसार शेरचनका कवितामा तत्कालीन राजनीतिक व्यंग्य बलियो रुपमा प्रस्तुत भएको छ। उनी भन्छन्, ‘घुम्ने मेचमाथि अन्धो मान्छे यसैको उदाहरण हो।’
शेरचनका परिवर्तन नाटक सङ्ग्रह २०१०, नयाँ झ्याउरे कविता सङ्ग्रह २०१०, निर्झर कविता सङ्ग्रह २०१५ र घुम्ने मेचमाथि अन्धो मान्छे कविता सङ्ग्रह २०२५ प्रकाशित छन्।
वि.सं. १९९२ पुस १० गते मुस्ताङको थाक टुकुचेमा जन्मिएका शेरचनको वास्तविक नाम भूपेन्द्रमान शेरचन हो। भूपीको जीवन निकै संघर्षपूर्ण थियो। पाँच वर्षको उमेरमै आमाको निधन भयो। दस वर्षकै उमेरदेखि अध्ययनका लागि बनारस पुगेका भूपी माक्र्सवादी चिन्तनप्रति आकर्षित भएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४