काठमाडौं- नेपाललाई भारतसहित तेस्रो मुलुकमा बिजुली बिक्री गर्न सहज हुने भएको छ। पछिल्लो समय भारतले अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका संशोधन गरेपछि नेपाललाई भारत हुँदै विभिन्न मुलुकमा बिजुली बिक्री गर्न सहज भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिए।
उनले मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पछिल्लो समय भारतले जुनसुकै मुलुक तथा कम्पनीले उत्पादन गरेको बिजुली किन्ने गरी आफ्नो कानुन संशोधन गरेकाले नेपाललाई सहज भएको बताए।
‘संशोधित कानुनपछि भारत हुँदै नेपालले बंगलादेशमा बिजुली बिक्री गर्न समस्या रहेन,’ उनले भने, ‘विगतमा सहजै भारत हुँदै बंगलादेशलगायत मुलुकमा बिजुली बिक्री गर्न कठिन थियो। भारतको समेत लगानी हुनुपथ्र्यो।’
उनका अनुसार अहिले भारतले बिजुलीलाई वस्तुका रुपमा हेरेको छ। त्यसैले बिक्री सहज भएको हो।
‘पछिल्लो समय नेपालबाट बंगलादेशले पाँच सय मेगावाट बिजुली किन्ने सम्झौता भएको छ,’ मन्त्री पुनले भने, ‘आगामी सन् २०४० सम्ममा बंगलादेशले नौ हजार मेगावाट बिजुली किन्ने लक्ष्य राखेको छ।’ भारतकै ट्रास्समिसन लाइन अथवा नयाँ ट्रान्समिसन लाइन थप गरेर भारत तथा बंगलादेशका लागि बिजुली नेपालले बिक्री गर्न सक्ने उनको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४