काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रमले युवा पलायन बन्द हुने बताएका छन्। उनले बाध्यात्मक वैदेशिक रोजगार अन्त्यको लागि देशव्यापी रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरिने बताए।
उनले मंगलबार अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा नेपाल सरकारले बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य गर्ने लक्ष्यसहित थप रोजगारी सिर्जना गर्न लागि देशव्यापी रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गर्दै गरेको बताए।
उनकाअनुसार श्रमिक र रोजगारदाताको सम्बन्धलाई सुमधुर बनाउदै श्रमिकको जीवनलाई गुणस्तरीय बनाउन सरकारकोतर्फबाट महत्वपूर्ण पहल भएको छ। सरकारले श्रममैत्री वातावरण निर्माण गर्न नयाँ श्रम ऐन तथा नियमावली जारी गरी कार्यान्वयनमा ल्याएको छ। नेपालमा पहिलो पटक श्रमिकको सामाजिक सुरक्षालाई बलियो बनाउन सामाजिक सुरक्षा योजना लागू भएको छ।
श्रमशक्तिलाई सीपयुक्त बनाई उत्पादनमुलक काममा लगाउने र श्रमिकको उत्पादकत्व वृद्धि गर्दै देशको आर्थिक सामाजिक विकासमा जनशक्तिको सदुपयोग गर्न सरकार क्रियाशील रहेको उनको भनाइ छ। ‘सरकारका यी पहलले आम श्रमिकको हक, हित र मर्यादित जीवन सुनिश्चित गर्न योगदान गर्नेछ,’ उनले भने।
यस वर्ष सरकारले अन्तर्राष्ट्रिय आप्रवासन दिवस ‘माइग्रेशनवीथ डीक्नीटी’ भन्ने नाराकासाथ मनाउने जनकारी दिएको छ। सन् २००० देखि संयुक्त राष्ट्र संघको निर्णयअनुसार हरेक बर्षको डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासन दिवस विश्वभर मनाउने गरिएको छ।
दिवसको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित विभिन्न संघसस्था, श्रमिक, नागरिक समाज तथा सरोकारवालाहरुको सहभागितामा सप्ताहव्यापी रुपमा दिवस मनाइने मन्त्रालयले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४