काठमाडौं- सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
थापाले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी अख्तियारले गरेको छ। मेयर थापा 'भरत ताल' बनाएर चर्चामा आएका थिए।
उनी माओवादीबाट निर्वाचित हुन्। उनले गैरकानूनी सम्पत्ति आर्जन गरेको उजुरीमाथि परेपछि अख्तियारले उनी अघिल्लो कार्यकाल मेयर हुँदाको अवधिको सम्पत्ति छानबिन गरेको थियो। थापाले सेवा प्रवेश गर्नुअघिको एकासगोल परिवारका सदस्यहरुको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको खातामा रहेको बैंक मौज्दात रकम, निजले सार्वजनिक सेवामा प्रवेशपश्वात प्राप्त गरेको पारिश्रमिक बचत आय, निजको श्रीमतीको पारिश्रमिक बचत आय, बैठक भत्ता, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण/कर्जा आय, जग्गा बिक्री आय, कम्पनी आय र कृषि आयसमेत गरी जम्मा ७ करोड ८६ लाख ५० हजार २ सय १ रुपैयाँ ४८ पैसा मात्र वैधानिक रहेको आयोगको ठहर छ।
तर यो अवधिमा उनकोले गरेको खर्च, लगानी र बैंक मौज्दात तेह्र करोड बीस लाख तीन हजार तीन सय एकानब्बे रुपैयाँ चौध पैसा देखिएको अख्तियारको आरोप पत्रमा छ।
'कुल वैधानिक आयलाई निजले गरेको कुल व्ययसँग तुलना गर्दा निजको आयस्रोत र आर्जन गरेको सम्पत्तिबीच तादाम्यता देखिन नआई ५ करोड ३३ लाख ५३ हजार १ सय उनानब्बे रुपैयाँ छैसठ्ठी पैसा बराबरको सम्पत्ति ऋणात्मक देखिएकोले सार्वजनिक पद धारण गरेका बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाले सार्वजनिक पदको दुरुपयोग गरीगैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको' आरोपपत्रमा छ।
थापाले सार्वजनिक सेवाको पदमा रहँदाका बखत गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिबाट उनको एकासगोलका परिवारका सदस्यहरूले जोडेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि रेश्मीकुमारी घिमिरे थापा, भाई राम कुमार थापा र भाई बुहारी द्वारिका राउतलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ।
यस्तो छ आरोपपत्र