आइतबार, पुस १३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बागमतीका मेयर भरत थापाविरुद्ध अख्तियारमा ९ उजुरी, कहिले हुन्छ छानबिन? 

अनियमितता

बागमतीका मेयर भरत थापाविरुद्ध अख्तियारमा ९ उजुरी, कहिले हुन्छ छानबिन? 

१ सय २१ विगाहमा पोखरी खनेर ग्राभेल, ढुंगा, बालुवा बेचेर व्यापक राजस्व हिनामिना गर्दै करिब १६ करोडभन्दा बढी पैसा अनियमितता गरेको भन्दै छानबिन माग गरिएको छ।
 |  शुक्रबार, पुस ६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ६, २०८०

काठमाडौं- बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ९ वटा उजुरी परेका छन्। ०७९ असार ६ गते बागमती नगरपालिका सर्लाहीमा व्यापक भ्रष्टाचार र अनियमितता भएको भन्दै अख्तियारमा तत्काल छानबिनको माग गर्दै पहिलो उजुरी परेको थियो। तर, हालसम्म छानबिन प्रक्रियाले गति नलिएको भन्दै उजुरीकर्ताले पटक-पटक अनियमितताका नयाँ उजुरीसहित अख्तियार धाइरहेका छन्। पछिल्लो उजुरी मंसिर २४ गते अख्तियारमा परेको छ। 

National life

उजुरीमा नगरपालिकामा भएका ९० प्रतिशत कालोपत्रे सडकको काम उपभोक्ता समितिमार्फत र ग्राभेलको काम उपभोक्ता समिति बनाएर गरेको, पिचको सबै काम मेयरले आफ्ना व्यापारिक साझेदार राममकृष्ण केसीलाई दिएर अनियमितता गरेको दाबी गरिएको छ। अवैधानिकरुपमा उपभोक्ता समिति गठन गरेर नक्कली तथा फर्जी विवरणको आधारमा भुक्तानी लिने गरेको, माइन्यूट तथा डोरहाजिरीमा किर्ते हस्ताक्षर गरेको व्यापक भ्रष्टाचार गरेको उजुरीमा उल्लेख छ। मेयरले आफ्नै क्रसरबाट ग्राभेलमाथि राख्‍ने बेस ल्याएर गुणस्तरहीन कालोपत्रे गरेको भन्दै गुणस्तर परीक्षण गर्न पनि माग गरिएको छ। 

सुन्दर पोखरीको कुरुप कथा

अहिले बागमती नगरपालिकाको तालको सर्वत्र चर्चा छ। हेर्दा सुन्दर देखिए पनि ताल निर्माणको कथा भने कुरुप छ। १ सय २१ विगाहमा पोखरी खनेर ग्राभेल, ढुंगा, बालुवा बेचेर व्यापक राजस्व हिनामिना गर्दै करिब १६ करोडभन्दा बढी पैसा अनियमितता गरेको भन्दै छानबिन माग गरिएको छ।

सो कार्यमा मेयर थापा, उपमेयर लिला मोक्तान, प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, लेखा अधिकृत विश्वराज पोख्रेलको मिलेमतो रहेको भन्दै उनीहरुमाथि छानबिन गर्न उजुरीमा भनिएको छ। ०७५ बाट खनिएको पहिलो पोखरीमा १६ करोड र ०७६ देखि खनिएको दोस्रो पोखरीबाट करिब १४ करोडभन्दा बढीको ग्राभेल, माटो, ढुंगा बेचेर अनियमितता गरेको उजुरीमा दाबी गरिएको छ। भरततालमा पसल भाडाबाट उठाएको रकममा पनि अयिमितता भएको दाबी गरिएको छ। 

Laxmi sunrise bank
kumari

आर मैनाली र बी भट्टराईका नाममा अख्तियारमा दायर उजुरीमा थापाले नगरपालिकाको अनियमिततामा प्रश्‍न उठाउनेमाथि गुण्डा पठाएर कुटपिट गर्ने गरिएको पनि उल्लेख छ। थापाले अनियमितता गरेको रकम बागमती वडा नं १२ का ह्यारिसन होटलको मालिक हरिराम काफ्लेको नाममा सुरक्षित गर्ने गरेको भन्दै काफ्लेको सम्पत्ति छानबिनका लागि सम्पत्ति शुद्धिकरण विभागमा लेखि पठाउन पनि माग गरिएको छ। मेयर थापाका विश्वासपात्र प्रमुख प्रशासकीय अधिकृत पोखरेल, योजना शाखाका इन्जिनियर सागर पौडेल, ओभरसियर सुजन बडाल र कम्प्युटर अपरेटर सन्तोष गदालको सम्पत्ति छानबिन गर्न उनीहरुको माग छ। 

थापालाई साथ दिइरहेका प्रमुख प्रशासकीय अधिकृत पोखरेल विगत ६ वर्षभन्दा बढी समयदेखि सरुवा भएका छैनन्। प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव कृष्ण व्याञ्जुको सरुवा भए पनि सेटिङ भत्कने डरले शक्तिकेन्द्र रिझाएर पोखरेललाई कायम गरिएको भन्दै पोखरेल रहँदा भ्रष्टाचारको प्रमाण नष्ट गर्नसक्ने भन्दै आवश्यक कारवाहीका लागि ध्यानाकर्षण गराइएको छ।

कामै नहुँदै भुक्तानी

उजुरीहरुमा ०७९/८० को असार मसान्तमा काम नै नभएका ठेक्काको भुक्तानी गरी मेयर थापाले आर्थिक अनियमितता गरेका छन्। थापाका निकटस्थ सूर्य घिमिरेको फर्मलाई वडा ११ मा बुद्धपार्क निर्माण कार्यमा १३ लाखको काम भएको तर सबै कामको असार मसान्तमा भुक्तानी दिएको, वडा ११ मै फनपार्क निर्माण कार्यपत्रको काम नभएको कार्यको अघिल्लो आर्थिक वर्षमै ठूलो रकम भुक्तानी दिएको, ती निर्माण कार्यमा मेयरले भाई रामकुमार थापा र उनका व्यापारिक साझेदार केसीले पहरी खोल्सीबाट ढुंगा निकाले पनि राजश्व नतिरेको भन्दै छानबिनको माग गरिएको छ। त्यस्तै, वडा १२ र ४ मा भाई थापा र केसीको टिपर चलाएको ग्राभेलको प्रयोग गरि नगरपालिकाबाट भुक्तानी लिई राज्यस्रोतको दुरुपयोग गरिएको उजुरी छ। 

ठेक्कामा सेटिङ

थापाले हरेक ठेक्का भाई, साझेदार र सेटिङमा दिने गरेको दाबी गरिएको छ। थापाले पोखरीमा गरेको अनियमितता लुकाउन करिब १ सय १६ विगाहाको बगैँचामा लगेर ग्राभेल हालेको भनेर झुटो विवरण तयार गरिरहेको भन्दै अख्तियारलाई छानविनमा ढिलाई नगर्न आग्रह गरिएको छ। बगैंचामा बढीमा १ हजार घनमिटर ग्राभेल ठुला खाल्डोमा हालेको आफूहरु प्रत्यक्षदर्शी भएको भन्दै उजुरीकर्ताले ९० सेन्टीमिटर पुरै बगैँचामा ग्राभेल हालेको झुटो कागजपत्र बनाइएको उल्लेख छ। 

अनुसन्धान जारी छ : अख्तियार 

विभिन्‍न मितिमा परेका बागमती नगरपालिकाका ९ वटा उजुरीहरुलाई केलाएर अध्ययन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले जनाएको छ। अख्तियार स्रोतले चाँडै उजुरीको अध्ययन सकेर थप अनुसन्धानको काम अघि बढ्ने जानकारी दिएको छ। 

अख्तियारमा परेको उजुरी :

393116179_335219582781890_1927494729049459843_n-1703247996.png

387518331_361212019962413_5713396780051583635_n-1703248079.jpg

 

प्रकाशित: Dec 22, 2023| 18:15 शुक्रबार, पुस ६, २०८०
प्रतिक्रिया दिनुहोस्