शनिबार, चैत २८, २०८२

कैलाली भन्सारबाट ४४ करोडको गहुँ, मकै र चामल आयात

 |  सोमबार, चैत ५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत ५, २०८०

अत्तरिया- कैलाली भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा २६ करोड ३७ लाख रूपैयाँको गहुँ आयात गरिएको छ। सोही अवधिमा १२ करोड २१ लाख रूपैयाँको मकै, पाँच करोड ९४ लाख रूपैयाँको चामल र एक करोड ९२ लाख रूपैयाँको तोरीको दाना आयात भएको छ।

National life

कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार चालु आवको आठ महिनामा आठ करोड ७१ लाख रूपैयाँको तरकारी, १६ लाख ५० हजार रूपैयाँको मटर, १४ लाख ८६ हजार रूपैयाँको फर्सी, लौकालगायतको तरकारी, सात लाख ३३ हजार रूपैयाँको प्याज, पाँच लाख २९ हजार रूपैयाँको काँक्रा, सात लाख ४१ हजार रूपैयाँको कागती र ६ लाख ७९ हजार रूपैयाँको अन्य तरकारी आयात गरिएको छ।

यस्तै चालु आवको सोही अवधिमा आठ करोड ४९ लाख रूपैयाँको अङ्गुर, चार करोड ४९ लाख रूपैयाँको अनार, दुई करोड ३० लाख रूपैयाँको अम्बा, आँपलगायतका फलफूल, दुई करोड ११ लाख रूपैयाँको सुन्तला, ८७ लाख २९ हजार रूपैयाँको स्याउ तथा ८४ लाख ७१ हजार रूपैयाँको केरा आयात गरिएको सूचना अधिकारी खड्काले जानकारी दिए।

राजस्व संकलनमा कमी
कैलाली भन्सार कार्यालयले चालु आवको आठ महिनामा लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेको छैन। चालु आवको फागुन मसान्तसम्म सात अर्ब ५६ करोड १६ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा पाँच अर्ब १३ करोड दुई लाख रूपैयाँमात्रै संकलन भएको सूचना अधिकारी खड्काले जानकारी दिए।

चालु आवको साउनमा ७२ करोड ३५ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ४६ करोड ८२ लाख, भदौमा ८८ करोड ४० लाख लक्ष्य रहेकामा ५१ करोड ९३ लाख, असोजमा ९७ करोड ८१ लाख लक्ष्य रहेकामा ६३ करोड १४ लाख तथा कात्तिकमा ९७ करोड ५२ लाख लक्ष्य रहेकामा ६१ करोड ४६ लाख रूपैयाँमात्रै राजस्व संकलन भएको उनले बताए।

kumari

यस्तै मङ्सिरमा  एक अर्ब दुई करोड २५ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ७३ करोड ३४ लाख रूपैयाँ, पुसमा  एक अर्ब चार करोड १३ लाख रूपैयाँ लक्ष्य रहेकामा ६८ करोड ९० लाख रूपैयाँ, माघमा ९२ करोड ६९ लाख रूपैयाँ लक्ष्य रहेकामा ६६ करोड ६७ लाख रूपैयाँ तथा फागुनमा एक अर्ब ९८ लाख लक्ष्य रहेकामा ६९ करोड एक लाख रूपैयाँमात्र राजस्व असुली भएको सूचना अधिकारी खड्काले जानकारी दिए।

चालु आवमा कैलाली भन्सार कार्यालयको ११ अर्ब ५८ करोड २४ लाख रूपैयाँ राजस्व संकलनको लक्ष्य छ। चालु आवको आठ महिनामा रु पाँच अर्ब १३ करोड दुई लाखमात्र राजस्व असुली भएको छ। जुन वार्षिक लक्ष्यको ४३ दशमलव २८ प्रतिशत हो। आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब ३० करोड ६६ लाख लक्ष्य रहेकामा आठ अर्ब २९ करोड ६३ लाख रूपैयाँ मात्र राजस्व असुली भएको कार्यालयले जनाएको छ। यो लक्ष्यको ६७ दशमलव ४१ प्रतिशत मात्र हो।

'आयात घटेसँगै राजस्व संकलन प्रभावित भएको हो', उनले भने, 'पुँजीगत खर्च बढ्न सकेको छैन। विकास निर्माणका कार्य पनि त्यति भएका छैनन्। यसबाट राजस्व असुलीमा कमी आएको हो।'

प्रकाशित: Mar 18, 2024| 21:30 सोमबार, चैत ५, २०८०
प्रतिक्रिया दिनुहोस्