शुक्रबार, असोज ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नबिल बैंकको' भर्चुअल क्रेडिट कार्ड'सेवा सुरु, एनबैंक एपमार्फत पाइने

नबिल बैंकको' भर्चुअल क्रेडिट कार्ड'सेवा सुरु, एनबैंक एपमार्फत पाइने

 |  शुक्रबार, असोज ३०, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३०, २०८३

काठमाडौं- नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज, सुरक्षित र आधुनिक बनाउने उद्देश्यले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। असोज २९ गते बिहीबारदेखि सुरु भएको यो भर्चुअल क्रेडिट कार्ड बैंकको एनबैंक एपमार्फत प्राप्त तथा प्रयोग गर्न सकिने बैंकले जनाएको छ।

अब ग्राहकहरूले परम्परागत क्रेडिट कार्ड लिँदा भोग्नुपर्ने कागजी प्रक्रिया तथा अन्य औपचारिक झन्झटहरू बिना नै एनबैंक एपको होमपेजमा रहेको ‘अपलाइ नाउ’ अप्सनमार्फत सजिलै आवेदन दिन र भर्चुअल क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन्। पूर्ण रूपमा डिजिटल स्वरूपमा उपलब्ध यस कार्डमार्फत दैनिक आवश्यक विभिन्न डिजिटल कारोबारहरू छिटो, सुरक्षित र झन्झटरहित रूपमा गर्न सकिनेछ।

बैंकले आफ्नै डेटामा आधारित विश्लेषणात्मक प्रणालीमार्फत योग्य ग्राहकहरूलाई पूर्व–स्वीकृत (Pre-approved) गरिसकेको छ। योग्य ग्राहकहरूले एपको होमपेजमा स्वतः ‘अपलाइ नाउ’ अप्सन देख्न सक्नेछन्। यो भर्चुअल क्रेडिट कार्ड फोनपे (Fonepay) मर्चेन्ट क्यूआरमार्फत गरिने भुक्तानीका लागि प्रयोग गर्न सकिनेछ।

यस सेवा सञ्चालनका लागि नबिल बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ। समझदारीसँगै ग्राहकहरूले फोनपे क्यूआर स्वीकार गर्ने विभिन्न व्यापारिक प्रतिष्ठानहरूमा सजिलै भुक्तानी गर्न सक्नेछन्।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार ज्ञवालीले ग्राहकलाई बैंक शाखामै पुग्न नपरी बैंकिङ सेवा उपलब्ध गराउने दिशामा बैंक निरन्तर क्रियाशील रहेको बताए। "ग्राहकको सहजता नै हाम्रो प्राथमिकता हो। डिजिटल युगको आवश्यकता अनुरूप ग्राहकलाई सकेसम्म बैंक शाखामै पुग्न नपरी बैंकिङ सेवा उपलब्ध गराउने दिशामा हामी निरन्तर काम गरिरहेका छौं। नबिल भर्चुअल क्रेडिट कार्ड सोही प्रयासको एक महत्वपूर्ण हिस्सा हो," सीईओ ज्ञवालीले भने।

देशभर २६२ शाखा सञ्जाल र ३१६ एटिएम मेसिनमार्फत २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको नबिल बैंकले पछिल्लो समय दिगो र प्रविधिमैत्री बैंकिङलाई प्राथमिकता दिँदै आएको छ।

प्रकाशित: Oct 16, 2026| 09:40 शुक्रबार, असोज ३०, २०८३
प्रतिक्रिया दिनुहोस्