काठमाडौं- चालू आर्थिक वर्ष २०८३/०८४ को दुई महिनामा चार खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। चालू आवमा नेपाल भित्रिने रेमिट्यान्समा २३.९ प्रतिशतले वृद्धि आएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
गत आर्थिक वर्ष २०८२/०८३ को सोही अवधिकमा तीन खर्ब ५२ अर्ब आठ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो। गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स ३३.१ प्रतिशतले बढेको थियो।
अमेरिकी डलरमा रेमिट्यान्स १३.५ प्रतिशतले वृद्धि भई दुई अर्ब ८५ करोड अमेरिकी डलर पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आप्रवाह २७.६ प्रतिशतले बढेको थियो।
वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो
चालू आर्थिक वर्ष २०८३/०८४ को साउन र भदौमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ७८ हजार ३२० रहेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ९० हजार १९८ थियो। त्यस्तै, पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ५२ हजार १६३ रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ४५ हजार ८८४ रहेको थियो।