बिहीबार, भदौ ११, २०८३

लघुवित्तका समस्या समाधान गर्न कार्यदल गठन

 |  शनिबार, चैत ३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत ३, २०८०

अर्थमन्त्री वर्षमान पुनले लघुवित्तका समस्या समाधान गर्न राष्ट्र बैंकका डेपुटी गभर्नरको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरेका छन्।

समितिमा राष्ट्र बैंकको लघुवित्त क्षेत्र हेर्ने कार्यकारी निर्देशक, अर्थ मन्त्रालयको वित्तीय क्षेत्र हेर्ने सहसचिव तथा उपसचिव सदस्य र लघुवित्त संघर्ष समिति तर्फबाट पुनाराम (मनिराम) ज्ञवाली, क्षेत्रबहादुर मोक्तान र लुजा राई सदस्य छन्।

राष्ट्र बैंकले आफ्ना डेपुटी गभर्नर मध्येबाट एक जनालाई कार्यदल संयोजक तोक्नेछ। कार्यदललाई लघुवित्तका समस्या निर्धारण गरी ६० दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश तोकिएको छ। कार्यदलको प्रतिवेदनका आधारमा लघुवित्त संस्थाको नियमन तथा सुधारका लागि नीतिगत तथा कानुनी सुधार प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख सहसचिव नारायणप्रसाद रिसाल नेतृत्वको टोलीले बिहीबार र शुक्रबार आन्दोलनरत पक्षसँग वार्ता गरेको थियो। दुई पक्षबीच शुक्रबार भएको ६ बुँदे सहमतिमा समस्या समाधान निम्ति कार्यदल गठन गर्ने पनि उल्लेख थियो।

सहमतिअनुसार आन्दोलनरत पक्षले शुक्रबारबाटै काठमाडौं केन्द्रित आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ।

प्रकाशित: Mar 16, 2024| 21:34 शनिबार, चैत ३, २०८०
प्रतिक्रिया दिनुहोस्