काठमाडौं- आइएमई पे का सेवाग्राहीले अबदेखि बैंक अफ काठमाडौं लिमिटेडको खातामा लिंक गरि आइएमई पे वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन्।
बैंक अफ काठमाडौंले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिंक गर्नेलगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउने जनाइएको छ। साथसाथै बैंक अफ काठमाडौँका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सकिने जनाएको छ।
आइएमई ग्रुपद्वारा प्रबर्द्धित ‘आइएमई डिजिटल’ र बैंक अफ काठमाडौँ बीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने कार्य प्रारम्भ भएको छ। बैंक अफ काठमाडौं लिमिटेड ‘आइएमई डिजिटल’ को बैंकिङ साझेदार संस्था हो।
१६ हजारभन्दा बढी एजेन्ट आउटलेट सन्जाल भएको आइएमई पे आईएमई समूह अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो। नेपाल राष्ट्र बैंकको “भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७२” बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो र आईएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी भएको छ।
आईएमई डिजिटलले 'आईएमई पे' ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन्।
यसले व्यक्ति-व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर ९त्तच्० मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्दछ।
आईएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिंङ सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४