शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया राष्ट्र बैंकको अनुसन्धानमा, रोकियो डीसीईओको राजीनामा

एनआईसी एशिया राष्ट्र बैंकको अनुसन्धानमा, रोकियो डीसीईओको राजीनामा

 |  आइतबार, माघ २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ २८, २०८०

काठमाडौं- एनआईसी एशिया बैंकका डेपुटी सीईओ सुधीरनाथ पाण्डेले राजीनामा दिएका छन्। नेपाल राष्ट्र बैंकको विशेष निरीक्षण टोलीले काम सुरु गरेसँगै उनले राजीनामा दिएका हुन्।

उनले घरायसी कारण देखाएर राजीनामा दिएको बताइएको छ। यद्यपि, पाण्डेको राजीनामा स्वीकृत भने भएको छैन। बैंक समस्यामा रहेका बेला उच्च व्यवस्थापन तहका कर्मचारीले राजीनामा दिँदा बजारमा नकारात्मक सन्देश प्रवाह हुने भन्दै सञ्चालक समितिको बैठकले पाण्डेको राजीनामा रोकेको हो।

राष्ट्र बैंकले अहिले एनआईसी एशिया बैंकमाथि अनुसन्धान गरिरहेको छ। बैंकले खराब कर्जा अनुपात कम देखाएको, नियमविपरीत कर्जा खडा गरेको, कानुनी सीमा मिचेर कर्जा दिएको लगायत प्रश्न उठेका छन्। राष्ट्र बैंकको निरीक्षणका क्रममा यस्ता दर्जनौं कैफियत भेटिएको बताइएको छ।

आर्थिक वर्ष २०७७-७८ र २०७८-७९ मा एनआईसी एशिया बैंकको पुँजीकोषमा अपुग हुँदा राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएको थियो। दुई आर्थिक वर्षपछि मात्रै यो बैंकले गत आर्थिक वर्ष करिब ३० प्रतिशत लाभांश वितरण गरेको थियो।

एनआईसि एशिया बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि निराशाजनक देखिएको छ। चालु आवको दोस्रो त्रैमासमा एनआईसीको प्रतिसेयर आम्दानी ३१.१८ रुपैयाँले घटेको छ। दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार गत वर्षको पुससम्ममा एनआईसी एशिया बैंकको प्रतिसेयर आम्दानी ५६.७७ रुपैयाँ पुगेको थियो।

तर, यो वर्ष पुसमा आउँदा ३१.१८ रुपैयाँले घटेर २५.५९ रुपैयाँमा झरेको छ। यो निकै फराकिलो गिरावट हो। अन्य कुनै पनि वाणिज्य बैंकको प्रतिसेयर आम्दानी यो हिसाबले घटेको छैन।

 

प्रकाशित: Feb 11, 2024| 15:59 आइतबार, माघ २८, २०८०
प्रतिक्रिया दिनुहोस्