काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले सरकारलाई काम गर्न कसले रोकेको छ भन्दै प्रश्न गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सत्ता पक्षका सांसदहरूलाई कहाँ बेथिति छ, कहाँ सुधार गर्नुपर्ने सबै थाहा रहेको बताउँदै त्यो काम गर्न कसले रोकेको भन्दै प्रश्न गरेका हुन्।
उनले भने, ‘सत्ता पक्षका सांसदको कुरा सुन्दा कहाँ के समस्या छ के विकृति, विसंगति छ, के गरे उपलब्धि हासिल गर्न सकिन्छ सबै थाहा रहेछ, मेरो प्रश्न नगरेको चाहिँ किन ? हामी नयाँ दलले रोकेको हो त ? यदि नयाँ दलले रोकेको हो भने कहाँ रोकेको हो, जानकारी पाउन पाए हुन्थ्यो।’
उनले वर्षौदेखि संसद्मा आरोप घोचपेच गर्ने थलो बनाउनुभन्दा अलि फरक ढंगले जान आफ्नो प्रस्ताव रहेको बताए। ज्ञान बाँड्ने र घोचपेच गर्ने थलो बनाउने हो भने आफ्नै दलबाट फर्किएर हेर्न उनले आग्रह गरे।
उनले भने, ‘पुराना दलहरूले एक पटक आफ्नो दलभित्र चियाएर हेर्ने हो कि ? जहाँ अदालतले फैसला गरेका मान्छेहरू दलको पदाधिकारी रहन्छन्, विश्वविद्यालयलाई राजनीतिबाट मुक्त गर्छु भनेको भाषणलाई कार्यरुप दिनका लागि विश्वविद्यालयमा भातृ संगठन नराख्नका लागि निर्णय गरेर काम अघि बढाउने हो कि ? सरकारी जग्गा किर्ते गर्नेहरू, आफ्नै वरिपरि छन् कि ? पार्टीगत रूपमा तिनलाई कारबाही गरेर सुशासनको उदाहरण दिने हो कि ? नागरिकता किर्ते गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने हो कि ? सहकारीका ठगहरूलाई कारबाहीको दायरामा ल्याउने हो कि ? लामो समय सरकारमै भएजस्तो लाग्छ। राजनीतिमा सरकारमा वर्षौं हुँदा पनि रोक्यो चाहिँ के ले ? नयाँ दलले ? नयाँ मान्छेले ?’
उनले चुनाव हारेका मान्छेलाई राष्ट्रिय सभामा लैजान अगुवाइ गरेको, अधिकार प्राप्त निकायले बयानका लागि बोलाउँदा गाडी नभएर नगएको भए गाडी पनि मगाइदिन्थ्यौं भन्दै उनले कांग्रेसप्रति कटाक्ष समेत गरे। यस्ता दलहरूले सदनमा सुशासन र छेडखानीका कुरा नगर्न आग्रह गरे।
लामिछानेले भ्रष्टाचारका फाइल खुल्नेबित्तिकै सर्वदलीय बैठक हुने गरेको बताए। सर्वदलीय बैठक मुलुकको आवश्यकताका विषयमा हुनुपर्नेमा उनले जोड दिए।
लामिछानेले राष्ट्रिय महत्वका ५ विषयमा सर्वदलीय बैठक गर्न प्रस्ताव गर्दै ती बैठक नेताहरुको निवास बूढानीलकण्ठ, खुमलटार, बालकोट र बालुवाटारजस्ता ठाउँमा नभई दलित र मुसहर बस्तीमा गर्नुपर्ने बताए।
आर्थिक शिथिलता, आम नैराष्य र युवा पलायनका लागि युवा केन्द्रित प्रोजेक्ट होपको विषय, सुशासन र भ्रष्टाचार नियन्त्रण, रुग्ण भौतिक पूर्वाधार आयोजनाको व्यवस्थापन, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको संकट समाधान, परराष्ट्र मामिलाका विषयमा सर्वदलीय बैठक बस्नुपर्ने उनले बताए।
यी विषयमा सबै राजनीतिक दलको साझा धारणा बनाएर संसद्बाट पास गर्न उनले प्रस्ताव गरेका छन्। सत्तारुढ दलका नेताहरुको कुरा सुन्दा बेथिती कहाँ छ र समाधान कसरी हुन्छ भन्ने पनि थाहा रहेको देखिएको लामिछानेले बताए।