शनिबार, असोज ३१, २०८३

दसैंमा बालेनको सन्देश : दसैंले एकता र आत्मीयता बढाओस्

 |  शनिबार, असोज ३१, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३१, २०८३

काठमाडौं- प्रधानमन्त्री बालेन शाहले बडादसैँले विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै सबैको घरमा उत्सव र उमङ्ग ल्याउने विश्वास व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत बडादसैँको शुभकामना दिँदै सत्यको बाटोमा हिँड्न र सुशासन कायम गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका हुन्।

उनले नेपाली समाजमा सदियौँदेखि दसैँको विशेष महत्त्व रहँदै आएको उल्लेख गर्दै यस पर्वलाई एकता, आत्मीयता र पारिवारिक मिलनको सङ्गमका रूपमा व्याख्या गरेका छन्। दसैँले सानालाई माया र ठूलालाई आदर गर्ने नेपाली मौलिक परम्परालाई प्रतिबिम्बित गर्ने उनको भनाइ छ।

प्रधानमन्त्री शाहले विभिन्न विपत्ति र सङ्कटपूर्ण परिस्थितिका बाबजुद नेपालीहरूले धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्यमान्यताको जगेर्ना गर्दै चाडपर्व मनाउँदै आएको उल्लेख गरेका छन्।

यस वर्ष रसुवा, नुवाकोट र गोरखालगायतका स्थानमा भएका विनाशकारी घटनाको शोक ताजै रहेका बेला दसैँ आएको उल्लेख गर्दै उनले ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको जानकारी पनि उनले दिएका छन्।

दसैँलाई असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा उल्लेख गर्दै प्रधानमन्त्री शाहले प्रत्येक व्यक्तिले आफूभित्रका खराब प्रवृत्तिलाई चिन्न र तिनमाथि विजय प्राप्त गर्न सक्नुपर्ने बताएका छन्। उनले काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारमाथि विजय प्राप्त गर्न पनि सबैलाई शुभकामना दिएका छन्।

चाडपर्वका बेला पनि बाध्यताले विदेशमा रहनुपर्ने नेपालीहरूको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री शाहले आर्थिक समृद्धि र नागरिकको सुखद जीविकाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। आर्थिक कारणले दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने उनको भनाइ छ।

देशलाई सुशासनको मार्गमा अघि बढाउन सरकार अहोरात्र खटिरहेको उल्लेख गर्दै उनले सत्य र सुशासनको बाटोमा हिँड्न माता दुर्गाभवानीको प्रेरणा र कृपा सबैमा रहोस् भन्ने कामना गरेका छन्।

प्रधानमन्त्री शाहले बडादसैँका अवसरमा सबै नेपालीको आरोग्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै सभ्य र भव्य रूपमा दसैँ मनाउन आग्रह गरेका छन्।

प्रकाशित: Oct 17, 2026| 09:38 शनिबार, असोज ३१, २०८३
प्रतिक्रिया दिनुहोस्