काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले सरकार इतिहासमै गतिहीन र नालायक बनेको आरोप लगाएका छन्।
बुधबार संसद् बैठकको शून्य समयमा बोल्दै बाँस्कोटाले जनताका पीरमर्का र समस्या नसुन्ने सरकारको कान र आँखा दुवै नभएको आरोप लगाए।
‘प्रधानमन्त्रीके भनाइ के छ भने रामराज्य आइसक्यो। यही हो रामराज्य ? योभन्दा नालायक, गतिहीन, योभन्दा जवावदेहिताविहीन सरकार इतिसहामा कहिल्यै थिएन,’ बाँस्कोटाले भने, ‘जसको कान छ न आँखा छ । कहिले सुन्छ सरकारले ? यसैले शून्य समयको के भ्यालु ?’
काभ्रे जिल्लाका पाँचखाल नगरकोटदेखि देउपुरसम्म जाने सडक र किसानले दूधको पैसा नपाएको विषयमा पटकपटक ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ नभएको उनले बताए। ‘नबोले पनि हुन्थ्यो । मन्त्री छेउछाउमा भएपछि बोल्नैपर्यो सुन्नुहुन्छ कि भनेर। प्रधानमन्त्री प्रचण्ड पाँचखाल जानुभयो। आफ्नो ड्राइभारलाई बाटो यस्तो होला भनेर सोच्या थिएन भन्नुभएछ। धन्न हाम्रो प्रधानमन्त्री,’ उनले भने, ‘अर्थमन्त्री नगरकोट भएर मेरो नगरमा जानुभयो र जहाँ पटकपटक कुरा उठाएँ। भौतिक मन्त्री यहीँ हुनुहुन्छ। उहाँलाई ४ पल्ट भनें तर आजसम्म बाटो बन्दैन किन? काभ्रे जिल्लाका किसानहरूले दूध बेचेको पैसा कहिले पाउछँन् ? सरकालाई प्रश्न सोध्न चाहन्छु।’