काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले धरहरा क्षेत्रमा पार्किङ बन्द गर्नु भन्दै आएको पत्रप्रति आक्रोश व्यक्त गरेका छन्।
सडकबाट पार्किङ हटाएर धरहराको भुइँ तलामा पार्किङ नि:शुल्क गरेको महानगरलाई धरहराबाट निर्माण चलिरहेकाले पार्किङ बन्द गर्नु भन्दै पत्र आएको थियो। त्यसपछि सोमबार बिहानै सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले त्यसप्रति उनले आपत्ति जनाएका छन्।
फेसबुक पेजमा उनले भनेका छन्
२०७८ वैशाख ११ शनिबार अर्थात् आजभन्दा २ वर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट "सेतो टावर" उद्घाटन भयो । सोही उद्घाटनलाई काठमाडौंका तत्कालिन मेयर विद्यासुन्दर शाक्यले भन्नुभएको थियो, "आज एक ऐतिहासिक काम सम्पन्न भएको छ । राणाकालिन अवस्थामा भएको भए केपी ओली टावर भन्थे ।"
तर केही दिन अगाडि त्यही ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, 'धरहरा निर्माण हुँदैछ । पार्किङ बन्द गर्नु ।'
उद्घाटन गरेको २ वर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नुभएको थियो 'नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ' भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।
तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभई उद्घाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद् तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ । निर्माण सम्पन्न नभई उद्घाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौँ ।
सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगरौँ । अन्त्यमा सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन । महानगरको पहलमा अहिलेको लागि नि:शुल्क सन्चालन हुँदै छ । अझै व्यवस्थापन गर्दै लग्नेछौं ।अहिले धेरैको नजर यहाँको पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमा रजाइँ गर्ने मनसाय देखिएको छ । हामी काठमाडौं महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पति प्रयोग हुन दिने छैनौं ।
सहरी विकास मन्त्रालयले धरहराको निर्माण सम्पन्न नभइसकेकाले निःशुल्क पार्किङ रोक्न माघ १४ गते काठमाडौं महानगरपालिकालाई पत्र पठाएको थियो।
वातानुकूलित, अग्नि नियन्त्रण प्रणाली, विद्युतीय उपकरण र सिसिटिभी लगायतको जडान बाँकी रहेको अवस्थामा मन्त्रालयअन्तर्गतको केन्द्रीय कार्यान्वयन इकाईसँग समन्वय नै नगरी बेसमेन्टमा पार्किङ गर्न थालिएको भन्दै रोक्न परिपत्र गरेको थियो।
‘विभिन्न छुटपुट कार्यहरु सम्पन्न गर्न बाँकी नै रहेको अवस्था छ। ती कार्य सम्पन्न नै नगरी भूमिगत पार्किङ सञ्चालन गर्दा निस्सासिने भई मानविय क्षतिसमेत हुने सम्भावना देखिएको एवं गर्न बाँकी रहेका कार्यहरू सम्पन्न गर्न बाधा व्यवधान समेत उत्पन्न हुने र निर्माण व्यवसायीबाट यस इकाईलाई आयोजना सम्पन्न भई हस्तान्तरण नभएको सन्दर्भमा निर्माणस्थलमा अनगिन्ति र अनाधिकृत व्यक्तिहरू र सवारी साधनहरूको प्रवेशले निर्माण स्थलको सुरक्षामा थप चुनौती बढ्न सक्छ,’ पत्रमा भनिएको थियो।
निर्माण सामग्रीहरूको टुटफुट एवं बनिसकेका संरचनाहरूमा क्षति हुने जोखिम पनि मन्त्रालयले औंल्याएको थियो। ‘त्यसको जिम्मेबारी कसले लिने? भन्ने विषय अन्योल रहेको छ। अर्कोतर्फ यस इकाईबाट निज निर्माण व्यवसायीलाई समयमै आयोजना सम्पन्न गर्न निर्देशन दिइएको र हाल सो अनुरूप कार्य भइरहेको अवस्थामा आयोजना सम्पन्न हुनासाथ उक्त पार्किङको पूर्ण क्षमता अनुसार पार्किङ सञ्चालन गर्न सकिने भएकोले हाललाई निर्माण कार्य नसकुञ्जेल उक्त पार्किङस्थलको उपयोग गर्ने कार्य तत्काल नगरिदिँदा बाँकी रहेका निर्माण कार्यहरूलाई यथाशक्य चाँडो सम्पन्न गर्न सहयोग पुग्नेछ,’ पत्रमा उल्लेख छ।