बुधबार, चैत २५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • संविधानसभा सदस्य तामाङलाई तीन वर्ष कैद र पौने तीन अर्ब जरिवानाको फैसला

संविधानसभा सदस्य तामाङलाई तीन वर्ष कैद र पौने तीन अर्ब जरिवानाको फैसला

 |  आइतबार, माघ २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ २१, २०८०

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा संविधान सभा सदस्य तथा सिभिल सहकारीका तत्कालीन अध्यक्ष इच्छाराज तामाङबाट पौने २ अर्ब र उनकी श्रीमती श्रृजना शाक्य तामाङबाट करिब एक अर्ब रुपैयाँ जरिवाना असुल्नुपर्ने फैसला गरेको छ।

National life

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङ दम्पतीविरुद्ध सजाय निर्धारण गरेको हो। साथै इच्छाराजलाई तीन वर्ष कैद र श्रीमतीलाई एक वर्ष ६ महिना कैद सजाय पनि तोकिएको छ। सिभिल सहकारी घोटालाकै अर्का अभियुक्त केशवलाल श्रेष्ठविरुद्ध २५ करोड ६५ लाख ८६ हजार १ सय २४ रुपैयाँ जरिवाना र डेढ वर्ष कैद सुनाइएको छ। गत माघ ७ गते विशेष अदालतले तामाङ दम्पती र अर्का प्रतिवादी श्रेष्ठलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आइतबार (माघ २१ ) को मिति तोकेको थियो।

सिभिल सहकारीका बचतकर्ताको अर्बौं रुपैयाँ घोटाला गरेको अभियोगमा तानिएका तत्कालीन र वर्तमान सञ्चालक तथा कर्मचारीविरुद्ध ठगी मुद्दा चलाइएको थियो। विभागले २०७९ भदौमा तामाङविरुद्ध ३ अर्ब ३१ करोड ८५ लाख र उनकी श्रीमती श्रृजनाविरुद्ध १ अर्ब तीन करोड बढी बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो ।

अदालतले जरिवाना असुलका लागि दोषी ठहरिएका व्यक्ति तथा मिना श्रेष्ठ, प्रतिष्ठा तामाङ र प्रतीक्षा तामाङका नाममा रहेको सम्पत्ति समेत जफत गर्ने फैसला गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सिभिल सहकारीको ठगीको अनुसन्धान गरेको थियो। 

तामाङ २०५५ मा सिभिल सहकारी खोलेर अध्यक्ष बनेका थिए। त्यहीबीचमा उनले सिभिल ग्रुपमार्फत हाउजिङ र जग्गा कारोबारमा हात हालेका थिए। उनले आफ्नै सहकारीमार्फत ऋण लिएका थिए र धितो राखेकै जग्गामा कानुनविपरीत घर बनाएर बेचेका थिए।

kumari

प्रकाशित: Feb 04, 2024| 18:48 आइतबार, माघ २१, २०८०
प्रतिक्रिया दिनुहोस्