मंगलबार, पुस १, २०८२

नकुहिने फोहर वर्गीकरण गरेर बिक्री गर्दै धनगढी

 |  आइतबार, माघ २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ २१, २०८०

कैलाली- धनगढी उपमहानगरपालिका बजार क्षेत्रका वडाबाट दैनिक २० देखि २५ टनसम्म फोहर संकलन हुँदै आएको छ।

National life

संकलित कुहिने फोेहरबाट मल तथा बायो ग्यास उत्पादन हुँदै आएकामा नकुहिने फोहर सूक्ष्म वर्गीकरण गरेर बिक्री गरिने भएको हो। झुरा कागज, कपी, कार्टुन, गत्ता, प्लास्टिक, बोतल, प्लास्टिकका गुडिया, सिसा, आल्मुनियम, टायर र ट्युबलगायत नकुहिने फोहर संकलन गरी बिक्री गरिने उपमहानगरपालिकाले जनाएको छ।

नगरले बजार क्षेत्रका नौवटा वडाबाट संकलन गरिएको फोहर सुक्ष्म वर्गीकरण गरेर बिक्रीका लागि तयार गरेको सरसफाइ व्यवस्थापन शाखा प्रमुख अशोक अवस्थीले बताए। धनगढी-२ मा एक बिघा जग्गा वार्षिक ८८ हजार आठ सय ८८ रूपैयाँमा भाडामा लिएर सूक्ष्म वर्गीकरण केन्द्र स्थापना गरिएको उनले जानकारी दिए।

सो वर्गीकरण केन्द्रमा १९ लाख रूपैयाँका उपकरण तथा संरचना निर्माण गर्नुका साथै सात लाख रूपैयाँको घेरबारसमेत गरिएको जनाइएको छ। अवस्थीका अनुसार उपकरणका लागि आवश्यक विद्युत् जडान गरेर दुई जना प्राविधिकसहित १२ जनाले गत बैशाखदेखि उक्त केन्द्र सञ्चालनमा ल्याएका छन्। केन्द्रले १३ लाख ५१ हजार रूपैयाँमा नकुहिने फोहर बिक्रीका लागि तयार गरी बोलपत्र आह्वान गरिसकेको उनले जानकारी दिए।

उपमहानगरपालिकाका सरसफाइ व्यवस्थापन शाखा प्रमुख अवस्थीले पहिलो पटक फोहर बिक्रीबाट १३ लाख ५१ हजार रूपैयाँ आम्दानी हुने बताए। उनका अनुसार वर्गीकृत फोहरलाई बिक्री गर्ने प्रक्रिया अगाडि बढेको छ। 

Laxmi sunrise bank
kumari

विगतका वर्षमा उपमहानगरले बजार क्षेत्रबाट संकलन भएको फोहर नदी किनार तथा जंगल क्षेत्रमा थुपार्दै आएकामा पहिलो पटक सुक्ष्म वर्गीकरण केन्द्र सञ्चालनमा ल्याएर आम्दानी गर्ने भएको हो।

उक्त आम्दानीबाट केन्द्रका कर्मचारी, विद्युत् शुल्क, फोहर संकलन गर्ने कर्मचारी तथा गाडीमा लाग्ने इन्धनको खर्चको व्यवस्थापन गर्ने उपमहानगरपालिकाको योजना छ। 

प्रकाशित: Feb 04, 2024| 19:21 आइतबार, माघ २१, २०८०
प्रतिक्रिया दिनुहोस्