आइतबार, भदौ १४, २०८३

ज्ञानेन्द्रलाई मैदानमा आउन माधव नेपालको चेतावनी 

 |  शनिबार, माघ २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ २०, २०८०

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश राम्रोसँग नचलेको भए राम्रो प्रधानमन्त्रीको रुपमा देशलाई विकल्प दिनका लागि मैदानमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन्। 

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्य शासन प्रणाली ठिक ढंगले चलेको छैन भने र मुलुक राम्ररी चलाउन सकेनन् भन्ने लागेको भए नेता भइ चुनाव जितेर नेतृत्व गर्न चेतावनी दिएका हुन्। 

उनले राष्ट्रपति बन्नका लागि मानिसहरुको अभाव नरहेको जिकिर गर्दै देशको काम प्रधानमन्त्रीले गर्ने भएकाले प्रधानमन्त्रीसँगको विवाद हो भने प्रधानमन्त्री बन्न देशमा चुनाव लड्न सुझाव दिए।

‘यदी राज्य शासन प्रणाली ठिक ढंगले चलेको छैन भने, मुलुक राम्ररी चलाउन सकेका छैनन् भने नेता भएर आए हुन्छ। जनताको बीचमा भिजे हुन्छ। चुनाव जितेर आए हुन्छ। राम्रो प्रधानमन्त्रीको रुपमा देशलाई विकल्प दिए हुन्छ,’ अध्यक्ष नेपालले भने, ‘अहिले राष्ट्रपति हुने मान्छेको अभाव भएर होइन। काम गर्ने भनेको प्रधानमन्त्रीले हो, प्रधानमन्त्रीसँगको यदी विवाद हो भने प्रधानमन्त्री बन्न तपाई चाहनुहुन्छ भने तपाई आउनुस्।’ 

अहिले प्रतिगामी शक्तिहरूले टाउको उठाउने र व्यवस्थालाई समाप्त पार्ने काम भइरहेको बताउँदै अध्यक्ष नेपालले प्रकृतिको एकलौटी लुट मच्चाएको, लुम्बिनी विकास कोषमा लुट मच्चाएको, पशुपति विकास कोषमा लुट मच्चाएको, जनकपुरमा पनि त्यही ढंगले बाहिरबाट आएका अनेक श्रोतसाधनहरुलाई एकलौटि कब्जा गरेको आरोप लगाए।

‘अहिले हाम्रो देशको सामुमा समस्या प्रतिगामी शक्तिहरुले टाउको उठाउने र यो व्यवस्थालाई समाप्त पार्ने मात्रै देखिएको छ। त्यसको सामना गर्ने हो। राजतन्त्रले फेरि फर्किएर आउने चाहना राखेको छ। त्यो कदापि सम्भव छैन। राजाको पालामा प्रकृतिको एकलौटी लुट मच्चाएको, लुम्बिनी विकास कोषमा लुट मच्चाएको, पशुपति विकास कोषमा लुट मच्चाएको, जनकपुरमा पनि त्यही ढंगले बाहिरबाट आएका अनेक श्रोतसाधनहरूलाई एकलौटि कब्जा गरेको, न खाजे, न अनुसन्धान, न कुनै कसैले प्रश्न गर्ने?,’ नेपालले भने।

अध्यक्ष नेपालले सरकारको अहिलेको स्थितिसँग आफू सन्तुष्ट नरहेको जिकिर गरे। उनले आफ्नो पार्टी मुलुकमा विद्यमान स्थितिको बारेमा गम्भीर रहेको पनि बताए।

‘हामी हाम्रो पार्टी, हाम्रो मुलुकमा विद्यमान स्थितिको बारेमा गम्भीर छ। अहिलेको स्थितिसँग हामी सन्तुष्ट छैनौँ। तर असन्तुष्ट मात्रै भएर पनि केही हुँदैन। असन्तुष्टि समस्याको समाधान होइन। समस्याको समाधान भनेको खोजेर पत्ता लगाउने हो। समस्याका कारण पत्ता लगाउनुपर्छ। खोजि गर्नुपर्छ। त्यसको समाधानको बारेमा गम्भीर विचार र मन्थन हुनुपर्छ। हामीले दिएको समाधानले स्थितिमा परिवर्तन गर्छ की गर्दैन, हाम्रो मुलुक अघि बढाउन त्यसले सहयोग पुग्छ की पुग्दैन,’ उनले भने।

प्रकाशित: Feb 03, 2024| 17:35 शनिबार, माघ २०, २०८०
प्रतिक्रिया दिनुहोस्