मंगलबार, चैत २४, २०८२

बागलुङ र म्याग्दी जोड्ने सडक

तीनपल्ट म्याद थप्दा ६० प्रतिशतमात्र काम

 |  शुक्रबार, माघ १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १९, २०८०

बागलुङ- बागलुङको गलकोट हटिया बजारबाट ताराखोला हुँदै म्याग्दी जोड्ने सडक स्तरोन्नति गर्न थालिएको चार वर्ष भयो। विसं २०७६ कात्तिकमा सम्झौता गरी काम सुरु भए पनि हालसम्म आधा मात्रै काम सकिएको छ।

National life

पूर्वाधार विकास कार्यालय बागलुङले एपेक्स खड्का कृष्ण कन्स्ट्रक्सनलाई दुई वर्षमा सक्ने गरी जिम्मा दिएको थियो। विसं २०७८ कात्तिक मसान्तसम्म सक्नुपर्ने काम तीन पटक म्याद थप गर्दा जम्मा ६० प्रतिशत काम भएको छ।

दुई जिल्ला जोड्ने सडकको काम सुस्त गतिमा हुँदा यात्रा गर्न निकै कठिन भएको छ। निर्माण कम्पनीले लामो समय काम रोकेको थियो।

निर्माण कम्पनीले अहिले भने कामदार खटाएर काम गरिरहेको छ। दुई दशकसम्म कच्ची सडक हुँदा समय-समयमा दुर्घटना हुने गरेको छ भने यात्रा निकै कष्टकर हुने गरेको यात्रुको भनाइ छ।

निर्माण कम्पनीले सम्झौता गरेर काम गर्न आएदेखि समस्यामा सहजीकरण गर्दै आए पनि समयमै काम गर्न नसकेको गलकोट नगरपालिकाका प्रमुख भरत शर्माले बताए।

kumari

बारम्बार काम गर्न आग्रह गरे पनि अटेर गर्दै आएको उनको भनाइ छ। समयमै सडक कालोपत्रे नहुँदा गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाका हजारौँ नागरिकले सास्ती भोग्नु परेको उनी बताउँछन्।

वडा नम्बर ५ को हरिचौरमा नगर अस्पताल सञ्चालन गरेको र नागरिक उपचारका लागि त्यहाँ जाँदा बढी समस्या खेप्नुपरेको प्रमुख शर्माले सुनाए। सडक आसपासका स्थानीय वर्षामा हिलो र हिउँदमा धुलोले आजित बन्ने गरेका छन्। सडक साँघुरो र अप्ठ्यारो हुँदा यात्रा गर्दा निकै जोखिम मोल्नुपरेको उनको भनाइ छ।

प्रमुख शर्माले भने, 'ट्रयाक खुलेको धेरै वर्षपछि सडक स्तरोन्नति हुँदा स्थानीय खुसी भएका थिए, हामी पनि खुसी थियौँ तर निर्माण कम्पनीले चार वर्ष बित्न लाग्दा पनि काम सकेको छैन, हटिया बजारदेखि नगरपालिकाको कार्यालयसम्मको केही भाग नगरपालिकाले पनि काम गरेको छ, यतिका समयसम्म काम नगर्दा स्थानीय आक्रोशित भएका छन्, हामीले सहयोग गर्दा पनि समयमा काम गर्न सकेको छैन।'

निर्माण कम्पनीले धमाधम काम गरे असार मसान्तसम्म काम सक्ने पूर्वधार विकास कार्यालय बागलुङका इन्जिनियर चन्द्रबहादुर पुनले जानकारी दिए।

उनका अनुसार १० किलोमिटर आठ सय मिटर कालोपत्रे गर्नका लागि जिम्मा पाएको निर्माण कम्पनीले गलकोट खण्डमा नाली निर्माण, फराकिलो बनाउने काम सकेको छ।

ताराखोला खण्डमा नाली व्यवस्थापन र फराकिलो पार्ने काम गरिरहेको इन्जिनियर पुनले बताए। गलकोट नगरपालिका-३ हटिया बजारबाट ताराखोला गाउँपालिका-४ साँदीसम्मका लागि पहिलो चरणमा काम भएको हो।

अहिले गाईघाट झरनासम्म काम भइरहेको पुनको भनाइ छ। निर्माण कम्पनीले २८ करोड रुपैयाँको लागतमा सडक निर्माणको जिम्मा लिएको पुनले बताए। 

'काम सुरु भएपछि निर्माण कम्पनीले बीचमा लामो समय काम गरेन, अहिले ‘फिल्ड’मा आएर धमाधम काम गरिरहेको छ, असार मसान्तसम्म म्याद छ, काम गर्‍यो भने सकिने सम्भावना देखिन्छ', इन्जिनियर पुनले भने, 'अब ४० प्रतिशत काम बाँकी छ, नाली र सडक चौडा गर्ने काम सकियो भने कालोपत्र गर्न धेरै समय लाग्दैन।' रासस

प्रकाशित: Feb 02, 2024| 20:41 शुक्रबार, माघ १९, २०८०
प्रतिक्रिया दिनुहोस्