सोमबार, मंसिर २९, २०८२

के हो अरुण चौधरी पक्राउ परेको बाँसबारी जग्गा प्रकरण ?

यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छुट्टै अनुसन्धान गरिरहेको छ।
 |  शुक्रबार, माघ १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १९, २०८०

काठमाडौं- बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा नेपाल प्रहरीको सीआईबीले उद्योगी-व्यवसायी अरुण चौधरीलगायत तीन जनालाई पक्राउ गरेको छ।

National life

पक्राउ परेका मध्ये दुई जनालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ भने एक जनालाई आज अदालतमा पेश गरिँदैछ। अब बयान लिने लगायतका अनुसन्धानका काम अघि बढ्छन्।

पक्राउ पर्नेमा सीजी होल्डिङ्‍सका अध्यक्ष तथा प्रबन्ध निर्देशक चौधरी, आम्रपाली कन्स्ट्रक्सनका सञ्चालक सञ्जय ठाकुर र बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा छन्।

बाँसबारी छाला उद्योग चीन सरकारको अनुदान सहयोगमा २०२० सालमा स्थापित भएको थियो। उद्योग निरन्तर घाटामा गएको देखाएर १० रोपनी जग्गा चौधरी समूहले खोलेको च्याम्पियन फुटवेयरलाई बिक्री गरिएको थियो। भदौ २०४३ मा ६ रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई सरकारी मूल्यांकनभन्दा सस्तो (रोपनीको २ लाख ५० हजार) मा बेचिएको थियो भने थप ४ रोपनी जग्गा उद्योगको २५०० कित्ता सेयर पाउने गरी दिइएको थियो। त्यसबेला च्याम्पियन फुटवेयरका मालिक अरुण चौधरी, विनोद चौधरी, वसन्त चौधरी लगायत थिए। 

Arun-chaudhary-1706774361.jpg
अरुण चौधरी

अजित थापा नेतृत्वको तत्कालीन सञ्चालक समितिको निर्णयअनुसार चौधरी ग्रुपका अरुण चौधरीले १० रोपनी जग्गा आफ्नो नाममा ल्याउन सफल भएका थिए। यो प्रकरणमा अनुसन्धान गर्न तीन महिना अगाडि सीआईबीले एसपी होविन्द्र बोगटीको नेतृत्वमा कमिटी गठन गरेको थियो। सोही कमिटीले अनुसन्धान गर्दा उनीहरू दोषी पाइएपछि पक्राउ गरिएको हो। उनीहरुविरुद्ध किर्ते, ठगी र सरकारी सम्पत्ति हिनामिनामा मुद्दा चलाउने तयारी छ।

Laxmi sunrise bank
kumari

यसबारे अनुसन्धान गर्न काठमाडौं महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्षसहित ४८ जना स्थानीयले उजुरी दिएका थिए। वार्षिक १० लाख जुत्ता उत्पादन गर्ने सर्तमा तत्कालीन च्याम्पियन फुटवेयर खोलेको चौधरी समूहले केही वर्षपछि १० रोपनी जग्गा निजी बनाएको आरोप छ। उक्त जग्गामा हाल चौधरी समूहले चाँदबाग स्कुल सञ्चालन गर्दै आएको छ।

तत्कालीन राजदरबारका साथै उच्च पदस्थ अधिकारीलाई मिलाएर उक्त जग्गा कब्जा गरेको देखिएको सीआईबीको भनाइ छ। उक्त जग्गा अहिले अरुण चौधरी र उनकी श्रीमती शिलाको स्वामित्वमा रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा रहेको देखिन्छ। यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छुट्टै अनुसन्धान गरिरहेको छ।

२०४४ सालमा दुई पटक गरेर बाँसबारी छाला जुत्ता कारखानाले १० रोपनी (पहिले ६ रोपनी र पछि ४ रोपनी) जग्गा च्याम्पियन फुटवेयरलाई नामसारी गरिदिएको थियो। जग्गा कम्पनीको नाममा आइसकेपछि चौधरी ग्रुपले कारखानासँग गरेको सम्झौताअनुसार जुत्ता उत्पादनलाई निरन्तरता दिएन। सुरू गरेको तीन वर्षमै जुत्ता उत्पादन बन्द गरियो। 

त्यहीबीच २०४९ सालमा सरकारले अरू केही संस्थानसँगै बाँसबारी छाला तथा जुत्ता कारखाना पनि निजीकरण गर्ने निर्णय गरेको थियो। निजीकरण गर्दा फुटवेयरले ओगटेको बाहेक कारखानाको नाममा रहेको अरू जग्गा सरकारले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, नेपाल मेडिकल काउन्सिल, नर्सिङ काउन्सिललगायत निकायलाई दिएको थियो। अर्थ मन्त्रालयको वित्तीय व्यवस्थापन संस्थान समन्वय महाशाखा (तत्कालीन संस्थान समन्वय महाशाखाको निजीकरण इकाई समिति) ले २०५१ वैशाख १४ गते फुटवेयरमा रहेको कारखानाको २५ सय कित्ता सेयर अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयको नाममा नामसारी गर्ने निर्णय गरेको थियो। 

सरकारको नाममा ल्याउने निर्णय भएको यो सेयर २०५२ साउन ११ गते अरुण चौधरीले ३६ हजार रुपैयाँमा हात पारे। साथै जग्गा निजी स्वामित्वमा पुर्‍याएपछि उनले फुटवेयरलाई सीजी चाँदबाग रेसिडेन्सी प्रालिमा रूपान्तरण गरेका थिए।

प्रकाशित: Feb 02, 2024| 10:37 शुक्रबार, माघ १९, २०८०
प्रतिक्रिया दिनुहोस्