सोमबार, मंसिर २९, २०८२

६ महिनामा १३ हजार सवारी दुर्घटना, ११ सय ३७ जनाले ज्यान गुमाए

 |  शुक्रबार, माघ १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १९, २०८०

काठमाडौं-: चालु आर्थिक वर्षको छ महिनामा देशभर भएका सवारी दुर्घटनामा एक हजार एक सय ३७ जनाले ज्यान गुमाएका छन् । चालु आवको साउनदेखि पुस मसान्तसम्म देशभरका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा एक हजार एक सय ३७ ले ज्यान गुमाएका हुन् ।

National life

ज्यान गुमाउनेमा पुरुष आठ सय ५४, महिला दुई सय नौ, बालक ५० र बालिका २४ रहेका प्रहरी केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। उाका अनुसार दुर्घटनामा १६ हजार तीन सय ३५ जना घाइते भएका छन् । 

तीन हजार दुई सय १३ गम्भीर र १३ हजार एक सय २२ जना सामान्य घाइते भएका ढकालले बताए । “डिजिटल प्रविधि, सिसिटिभी जडान, ट्राफिक लाइट, मापसे चेकिङलगायतलाई प्रहरीले प्राथमिकता दिएको छ । योसँगै प्रहरीले दुर्घटना कम हुने विश्वास लिएको छ”, उनले भने ।

प्रवक्ता ढकालका अनुसार सो अवधिमा देशभर १२ हजार आठ सय ५६ वटा सवारी दुर्घटना भएका छन् । काठमाडौँ उपत्यकामा पाँच हजार आठ सय ६५, कोशी प्रदेशमा एक हजार छ सय ३९, मधेसमा तीन हजार एक सय ९०, बागमतीमा सात सय छ, गण्डकीमा एक सय ९५, लुम्बिनीमा छ सय छ, कर्णालीमा चार सय ९५ र सुदूरपश्चिम प्रदेशमा एक सय ६० सवारी दुर्घटना भएका छन् ।

दुर्घटनामा १० हजार तीन सय ५३ वटा सवारी साधनमा क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीको तथ्याङ्क हेर्दा सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल रहेको छ ।

Laxmi sunrise bank
kumari

तीव्र गति, यात्रुले बाटो काट्दा, मापसे र लापसे, ट्राफिक नियम उल्लङ्घन, सवारी चालक अनुमतिपत्र प्राप्त नहुनु, ओभरटेक, ओभरलोड, ब्रेक फेल, मोबाइल फोनको प्रयोग, यान्त्रिक गडबडी, झुण्डिएर यात्रा गर्नु, जीर्ण तथा कच्ची सडक, उकालो ओरालो, हुस्सुकुहिरो, बाढीपहिरो र चौपायलगायत कारणले दुर्घटना हुने गरेको प्रवक्ता ढकालको भनाइ थियो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले दुर्घटना बढी हुने स्थानमा निरन्तर चेकजाँच गर्ने, सचेतनामूलक चिह्न राख्नेलगायत काम गरिरहेको बताए। उपत्यकाका साँघुरा सडकमा तीव्र गतिमा सवारी साधन चलाउँदा बढी दुर्घटना हुने गरेको उनको भनाइ थियो ।

प्रकाशित: Feb 02, 2024| 07:49 शुक्रबार, माघ १९, २०८०
प्रतिक्रिया दिनुहोस्