मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • दरबार हत्याकाण्डबारे प्रधानमन्त्रीप्रति माधवको असन्तुष्टि, ओलीतिर देखाए औंला

दरबार हत्याकाण्डबारे प्रधानमन्त्रीप्रति माधवको असन्तुष्टि, ओलीतिर देखाए औंला

जति नै विरोध गरे पनि गठबन्धन भत्किँदैन, मसानघाटबाट भूत जगाए जस्तै राजतन्त्रलाई फेरि ब्युँताउन सम्भव छैन 
 |  बिहीबार, माघ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १८, २०८०

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजदरबार हत्याकाण्डबारे प्रधानमन्त्रीले विचार नपुर्‍याइ बोलेको भन्दै असन्तुष्टि पोखेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले गम्भीर कुराहरूमा बोल्नुअघि गठबन्धनमा सहभागी दलहरू र आफूलाई सोधेको भए उचित हुने बताएका हुन्। 

National life

उनले तत्कालीन हत्याकाण्डका समयमा आफूलाई गिरिजाप्रसाद कोइरालाले समेत के गर्ने भनेर सोध्ने गरेको भन्दै उनले सरसल्लाह बिनै प्रधानमन्त्री दाहालले छानबिन गर्ने कुरा गरेको बताएका छन्। दरबार हत्याकाण्डको केही समयपछि नेकपा एमालेका वर्तमान अध्यक्ष गृहमन्त्री बनेको र पछि प्रधानमन्त्री पनि बनिसकेकाले केपी शर्मा ओलीलाई केही बढी जानकारी भएको हुनसक्ने भन्दै उनीसँग बुझ्नुपर्ने बताएका हुन्।

‘जहाँसम्म दरबार हत्याकाण्डको कुरा छ। त्यतिखेर मेरो नाम आएको थियो। तपाईँहरूले बिर्सिनुभएको छैन होला। मैले के राखेको थिएँ भन्दा म भनेको कम्युनिस्ट पार्टीको नेता हो। म प्रतिपक्ष दलको नेता हो भने सत्तापक्षको नेता पनि त्यो आयोगमा बस्नुपर्छ। गिरिजाबाबु बस्ने हो भने म पनि बस्छु, होइन भने दोष हामीलाई आउने अनि नेपाली कांग्रेस जोगिने त्यो बेलाको स्थिति बन्थ्यो। त्यसैले मैले अरूले बसेर हुँदैन, राजनीतिक नेतालाई राख्ने हो। होइन भने राख्नै छ भने हाम्रो पार्टीबाट भरत मोहन अधिकारीलाई राख्नुस्। उहाँ कानुनको ज्ञाता पनि हो भनेर मैले प्रस्ताव राखेको थिएँ’, उनले भने। 

उनले आयोग बनाउन आफ्नो भूमिका रहेको पनि बताए। ‘त्यो बेला तत्कालीन राजा ज्ञानेन्द्र मानिरहेका थिएनन्। उनी राजा त भइसकेका थिएनन्, उनले भनिरहेका थिए। म आफैँ गर्छु छानबिन भनेका थिए। तपाईँको छानबिन कोही मान्नेवाला छैनन् भन्ने मान्छे मै हुँ। छानबिन आयोग बनाउन त बनाए, मलाई पनि जोडिदिए। राजा वीरेन्द्रको अन्तिम संस्कार भइरहेको बेलामा आर्यघाटमा म थिएँ। सभामुख तारानाथ रानाभाट, प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको छानबिन आयोगले छानबिन गर्‍यो। कति सबै ल्याउन सक्यो। सकेन आफ्नो ठाउँमा छ। अहिले प्रधानमन्त्रीजीले फेरि छानबिन गर्ने कुरा गर्नुभयो। यस्ता कुराका बारेमा अलि सरसल्लाह गरेको भए राम्रो हुन्थ्यो। हामीसँग पनि सल्लाह भएको छैन। मैसँग पनि सोधे त हुन्थ्यो नि। कमसेकम गिरिजाबाबुले त मलाई सोध्ने गर्नुहुन्थ्यो। के गर्ने माधव बाबु भन्नु हुन्थ्यो। हाम्रो प्रचण्डजी छिटो बोलिहाल्नुहुन्छ। ओलीजी अलि पछि गृहमन्त्री भई प्रधानमन्त्री पनि भएकाले उहाँले धेरै सूचना पाउनुभएको छ कि उहाँलाई सोध्नुपर्ला’, उनको भनाइ थियो। 

अध्यक्ष नेपालले नेकपा एमालेप्रति लक्षित गर्दै कतिपयलाई गठबन्धन नपचेर वान्ता हुने गरेको भन्दै गठबन्धन पाँच वर्षसम्म चल्ने दाबी गरे। उनले भने, ‘यो गठबन्धन कतिपयलाई पचिरहेको छैन, बान्ता नै भइरहेको छ। गठबन्धनको नाम सुन्ने बित्तिकै वाक्क दिक्क मान्छन्। तर उनीहरू जतिसुकै गठबन्धनको विरोधमा लागे पनि गठबन्धन भत्किने वाला छैन। पाँच वर्षसम्म गठबन्धन रहन्छ,’ उनले अगाडि भने,‘ गठबन्धनले मुलुकलाई राजनीतिक स्थायित्व दिन्छ र जनताको इच्छा बमोजिमअनुसार सुशासन कायम गर्छ। भ्रष्टाचारलाई नियन्त्रण गर्न कटिबद्ध छ। भ्रष्टाचारीलाई कारबाही गरोस् भन्ने कुरामा सरकार अगाडि बढोस् भन्ने हाम्रो पनि चाहना छ।’

Laxmi sunrise bank
kumari

यस्तै उनले भाषण र वाचाभन्दा परिणाममुखी काम गर्न सरकारलाई आग्रह गरेको भन्दै यसको लागि गम्भीर भएर लाग्न आवश्यक रहेको बताए।  उनले भने, –‘भाषण र वाचाभन्दा परिणाममुखी काम गर्नुपर्छ र त्यसको लागि सरकारलाई आग्रह पनि गरेका छौँ। विगतका गल्तीलाई समीक्षा गर्नुपर्छ। कनिका छरे जसरी बजेट छर्ने। आवश्यक नभएको योजनामा लगानी गर्ने बानी छ, आफ्नो निर्वाचन क्षेत्र र बजेटबाहेक देशको बारेमा सोच्ने सोचको अभाव छ।’

मसानघाटबाट भूत जगाए जस्तै राजतन्त्रलाई फेरि ब्युँताउन खोजिरहेको भन्दै यो व्यर्थको कसरत नगर्न पनि उनले आग्रह गरे। उनले भने, ‘हराई सकेका शक्तिहरू, राजतन्त्रलाई फेरि ब्यूताउन खोजिरहेका छन्, मसानघाटबाट भूत जगाए जस्तै जगाउन खोजिरहेका छन्। तर उ जाग्ने वाला  छैन। केही गर्नेवाला पनि छैन। जाग्न पनि दिँदैनौ, टिक्न पनि दिँदैनौ। त्यस कारणले व्यर्थको कसरत नगरौँ।’

प्रकाशित: Feb 01, 2024| 17:01 बिहीबार, माघ १८, २०८०
प्रतिक्रिया दिनुहोस्