मंगलबार, चैत २४, २०८२

हिमपातसँगै बाजुरामा चिसोको चिन्ता

 |  बिहीबार, माघ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १८, २०८०

बाजुरा- बुधबारबाट भएको मौसम बदलीसँगै जिल्लाको लेकाली भेगमा हिमपात भएको छ। एकाएक मौसममा बदली भएर वर्षा हुन थालेपछि हिमपात सुरु भएको हो। 

National life

जिल्लाका नौवटै पालिकाका लेकाली र तल्लो क्षेत्रमा हिमपात हुन थालेको छ। पाँच महिनापछि वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन्। पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकाका विच्छ्याँ र रुगिन, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिकाका लेकाली उच्च लेकाली भेगमा भारी हिमपात भएको छ। 

यस्तै जगन्नाथ, स्वामीकार्तिक, बडीमालिका, खप्तड छेडेदह र त्रिवेणी नगरपालिकाका लेकाली क्षेत्रमा हिमपात भएको हो। बेँसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ। बुधबार रातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको भारी हिमपातले जनजीवन कष्टकर बनाएको छ। बडीमालिका र बूढीनन्दा नगरपालिका लगायतका उच्च हिमाली क्षेत्र यस वर्ष कात्तिक अन्तिम साताबाट सेताम्मे हुने चुचुरा केही वर्षदेखि भने माघको मध्यतिर पुगेर सेताम्मे बनेका छन्।

जिल्लाका हिमाली गाउँपालिका, बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका, त्रिवेणी नगरपालिकाका, खप्तड छेडेदह गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिकाका लेकाली भूभागमा हिमपातसँगै वर्षा भइरहेको जानकारी प्राप्त भएको छ। वर्षा र हिमपात भएपछि बस्तुभाउ घाँस दाउराको समेत समस्या भएर जनजीवन नै कष्टकर बनेको स्थानीयले बताएका छन्। 

हिमपातका कारण सदरमुकाम मार्तडीलगायतका विद्यालयसमेत प्रभावित भएका छन्। चिसोसँगै हिमपात भएपछि विद्यालयबाट टाढा रहेका विद्यार्थीलाई आवतजावतमा समेत समस्या हुँदा पठनपाठनमा समस्या भएको छ। लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने वर्षासँगै भारी हिमपात भएपछि खुसी भएका छन्। 

kumari

हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइएका विभिन्न बालीलाई फाइदा पुगेको बडीमालिका नगरपालिका–३ रजालीका कृषक कमल रावलले बताए। वर्षाले विभिन्न अन्नबाली, फलफूल र तरकारीलगायत किसानलाई फाइदा पुग्ने जिल्ला कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख मीनप्रसाद जैशीले बताए। हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रका चार स्थानीय तह र हुम्ला, मुगु तथा कालीकोटका केही स्थानीय तह जोड्ने मार्तडी कोल्टी सडकखण्डमा पर्ने बडिमालिका र बूढीनन्दा नगरपालिकाको पोरखे लेकमा हिमपात हुँदा त्यो क्षेत्रमा चल्ने यातायात सेवा प्रभावित भएको छ।

प्रकाशित: Feb 01, 2024| 18:21 बिहीबार, माघ १८, २०८०
प्रतिक्रिया दिनुहोस्