काठमाडौं- नक्कली नामको दोहोरो नागरिकता बनाई सयौं सर्वसाधारणबाट करोडौं ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्।
ललितपुरको कोन्जोस्योम गाउँपालिका–४ का ३२ वर्षीय सुजन तामाङ पक्राउ परेका हुन्। उनलाई बुधबार ललितपुरको पुल्चोकबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले जनाएको छ।
तामाङले युरोपका विभिन्न देश पठाउने भन्दै ६०० भन्दा बढी सर्वसाधारणलाई ठगेको प्रहरीले जनाएको छ। तामाङले विकास वाइबा नामको दोहोरो नागरिकता बनाएर ठगी गर्ने गरेको पाइएको छ।
हालसम्म ७० जनाको मुद्दा दर्ता भएको र ३ करोड २५ लाख बिगो देखिएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार तामाङले बालाजुमा युरो विङ्स एजुकेसन कन्सल्टेन्सी सञ्चालन गरेर माल्टा, पोल्याण्ड, क्यानडा, क्रोएसिया लगायत देशमा पठाइदिने प्रलोभन देखाई मानिसहरुलाई ठगेका थिए। तामाङलाई प्रहरीले आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाएको छ।
तामाङले २०७३ सालदेखि आयुष मेनपावर लगायत विभिन्न मेनपावरमा एजेन्टको रुपमा काम गरेका थिए। करिब ५ वर्ष एजेन्टको रुपमा काम गरी उनले मानिसहरुलाई युएइ, कतार, मलेसिया लगायत देशमा पठाएका पनि थिए। २०७७ सालमा ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा मुद्दा चलेपछि उनी फरार थिए। नेपाल तथा भारतका विभिन्न स्थानमा लुकेर बसेका तामाङले २०८० वैशाखमा विकास वाइवा नामको अर्को नागरिकता बनाएर बालाजुमा कन्सल्टेन्सी खोलेका थिए।
तामाङले सरकारी कर्मचारीलाई समेत यूराेप पठाइदिने प्रलोभन देखाएर नक्कली भिसा देखाई जागिर छोड्न लगाएको पाइएको छ। तामाङले नक्कली नागरिकता प्रयोग गरी बैंक खातासमेत खोलेर कारोबार गर्ने गरेको पाइएको छ।
तामाङले युरोपियन मुलुकमा मानिस पठाउन मुलुकअनुसार रेट निर्धारण गरेका थिए। क्यानडाका लागि १८ लाख, माल्टाका लागि ८ लाख, पोल्याण्डका लागि ७ लाख र क्रोएसियाका लागि ६ लाख ५० हजार रेट तोकिएको थियो। उनले ६०० भन्दा बढीबाट ५० हजारदेखि ५ लाखसम्म रकम लिएको प्रहरी अनुसन्धानबाट देखिएको छ।
ठगी गरेको रकमबाट तामाङले चार करोड व्यक्तिगत ऋण तिरेको, राप्ति मेनपावरमा ५० लाख लगानी गरेको, ३५ लाखमा गाडी किनेको, भाइको खातामा साढे १५ लाख जम्मा गरेको, सहकारीको १५ लाख ऋण तिरेको र ५ लाखको सुनको ब्रासलेट किनेको देखिएको छ।