बुधबार, पुस २, २०८२

सौराहामा सभाहल निर्माण अन्तिम चरणमा

 |  बिहीबार, माघ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १८, २०८०

National life
Laxmi sunrise bank
kumari

भरतपुर- चितवनको पर्यटकीय नगरी सौराहामा निर्माणाधीन सभाहलको काम अन्तिम चरणमा पुगेको छ। रु ३५ करोडको लगानीमा सभाहल निर्माण हुन लागेको हो। बाँकी दुई प्रतिशत काम यही महिनाभित्र सम्पन्न हुने सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख झपटबहादुर थापाले जानकारी दिए। 

उनका अनुसार हलमा सिट राख्ने, रङरोगनका केही काम, सभाहल परिसरमा ‘ब्लक’ बिछ्याउनेलगायत सरसफाइको काम बाँकी छ। विसं २०७६ कात्तिक २२ गते रेलीगर कन्स्ट्रक्सन प्रालि ललितपुरसँग सम्झौता भई सभाहल निर्माणको काम सुरु गरिएको थियो। निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि विसं २०७९ वैशाख २१ गते म्याद थप गरेर काम गरिएको थियो। थपिएको समयमा सभाहलको काम सम्पन्न हुने चरणमा रहेको प्रमुख थापाले जानकारी दिए। उनले बजेट विनियोजन नभएका कारण निर्माण कम्पनीलाई पैसा भुक्तानी गर्न नसकिएको भन्दै यस वर्ष जम्मा रु डेढ करोड मात्र विनियोजन भएको बताए। 

सभाहलको क्षमता एक हजार जनाको छ। ठूलो हलसँगै एक सय ५० जना अट्ने र ५० जना अट्ने छुट्टाछुट्टै बैठक हलसमेत निर्माण गरिएको आयोजनाका इञ्जिनियर सुजन खतिवडाले जानकारी दिए। निर्माणको लागत रु ३५ करोड २२ लाख ७० हजार (भ्याटसहित) रहेको उनले बताए। सभाहल निर्माणले सामाजिक तथा आर्थिक विकाससँगै सौराहाको पर्यटनलाई थप विकसित बनाउने जनाइएको छ।  रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले सभाहल सौराहाको पर्यटन विकासका लागि कोसेढुङ्गा सावित हुने बताउनुभयो। रत्ननगरले अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याएको ठाउँमा ‘सिटीहल’ निर्माण गरिएको हो।

प्रकाशित: Feb 01, 2024| 11:40 बिहीबार, माघ १८, २०८०
प्रतिक्रिया दिनुहोस्