काठमाडौं- त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ६१ किलोग्राम सुनको छानबिनिका लागि गठित उच्चस्तरीय समितिले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यसँग सोधपुछ गरेको छ।
६१ किलो सुन तस्करी प्रकरणमा मुछिएका एक आरोपी प्रहरी कार्यालयमा पुगेर पनि छुटेको सन्दर्भमा उनीसँग सोधपुछ गरेको सुन समितिका एक सदस्यले बताए । त्यसक्रममा बज्राचार्यले ‘त्यो विषयमा’ आफूलाई थाहा नभएको जवाफ दिएको समितिका सदस्यले बताए।
समितिले सुन प्रकरणको अनुसन्धान अधिकृत डीएसपी दुर्गाराज दाहालसँग पनि सोधपुछ गरेको छ। ‘भेपमा लुकाएर तस्करी भएको ९ किलो सुनको सन्दर्भमा रहेर उनीसँग कुरा भएको हो’, समितिका एक सदस्यले भने, ‘पछिल्लो सुन प्रकरणबारे पनि कुरा भएको छ।’
६१ किलो सुन समातिएको तीन महिनापछि सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यकोको संयोजकत्वमा सुन पैठारी र तस्करी नियन्त्रणका लागि जाँचबुझ आयोग गठन गरेको थियो। २ साउनमा सुन समातिएपछि यसको अनुसन्धानको विषय राजनीतिक मुद्दा बनेको थियो।
समिति स्रोतका अनुसार, केहीअघि सहसचिव झलकराम अधिकारीको पनि बयान लिइएको छ। सुन तस्करी प्रकरणमा जोडिएका दावा छिरिङसँग भएको संवादको विषयलाई लिएर उनीसँग सोधपुछ भएको हो। अध्यागमन विभागमा महानिर्देशक रहेका बेला दावासँग उनको कुराकानी भएको विवरण सार्वजनिक भएका बेला मन्त्रालयले उनको जिम्मेवारी खोसेको थियो।
आयोगको कार्यादेशमा विदेशबाट इलेक्ट्रिक सिगरेट (भेप)मा तथा २ साउनमा ब्रेकसुमा राखी अवैध पैठारी (तस्करी) गरिएको सुनलगायत पटक–पटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्ण रूपमा नियन्त्रण गर्न मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र पटक–पटकको सुन तस्करी सम्बन्धमा नेपाल सरकारका विभिन्न निकायबाट भएका छानबिन अनुसन्धानसमेतको अध्ययन गरी तस्करीको प्रकृति, सुनको परिमाण, अपराधको दायरा र सो कार्यमा संलग्न व्यक्तिका सम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने देखिएमा थप छानबिन अनुसन्धान गरी कानुनबमोजिम कारबाहीका लागि सिफारिस गर्ने उल्लेख गरिएको थियो।