आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • डेढ अर्ब हिनामिना गरेको इमेज सहकारीकी कोषाध्यक्ष लक्ष्मी कारागार चलान

डेढ अर्ब हिनामिना गरेको इमेज सहकारीकी कोषाध्यक्ष लक्ष्मी कारागार चलान

 |  बुधबार, माघ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ १७, २०८०

बागलुङ- सहकारी ठगी मुद्दामा इमेज बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष २७ वर्षीय लक्ष्मी सेन सुनारलाई जेल चलान गरिएको छ। जिल्ला अदालत बागलुङको सोमबारको आदेशले सुनार जेल चलान भएकी हुन्।

उनीविरुद्ध गत असार १० गते पक्राउ पुर्जी जारी भएको थियो। जिल्ला प्रहरीले अदालतमा पेस गरेपछि अदालतको आदेशले उनलाई पुर्पक्षका लागि जेल पठाइएको प्रहरी नायब उपरीक्षक मदन केसीले बताए।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले निसीखोला गाउँपालिका–३ घर भएकी सुनारलाई ललितपुरको धोबीघाटबाट गत बिहीबार बेलुकी पक्राउ गरेको थियो। बचतकर्ताको डेढ अर्बभन्दा धेरै रकम हिनामिना गरेको आरोप लागेपछि सहकारीका संस्थापक तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीसहितका सञ्चालक फरार थिए। नेपालीसँगै उनीसमेत फरार थिइन्।

मुद्दाकै आधारमा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन्। उनीहरूलाई जिल्ला अदालत बागलुङको गत साउन ५ गतेको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको हो।

भण्डारी, बुढा र किसान साउन ५ गते नै थुनामा गएका थिए भने सोही आदेशकै आधारमा परियार र बुढामगर पुस पहिलो साता पक्राउ परेका हुन्। सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीसहितको ठगी मुद्दामा ९ जनालाई पक्राउ आदेश जारी भएको छ। तीमध्ये अहिलेसम्म ६ जना पक्राउ परिसकेका छन्।

प्रकाशित: Jan 31, 2024| 13:53 बुधबार, माघ १७, २०८०
प्रतिक्रिया दिनुहोस्