मंगलबार, चैत २४, २०८२

यस्तो हुनेछ शुक्रबारसम्मको मौसम

 |  बुधबार, माघ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ १७, २०८०

काठमाडौँ- पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीका कारण आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ। 

National life

जल तथा मौसम पूर्वानुमान महाशाखाले हिउँदे मौसमको विशेष बुलेटिन निकालेर उक्त प्रणालीका कारण आजदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा तथा बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको जनाएको हो।

साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही भू–भागमा तथा बागमती र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। ती दुवै मौसमी प्रणालीका कारण आज अपराह्नबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका अन्य पहाडी भू–भागका धेरै स्थानमा साधारणतया बदली रहनेछ।

साथै उक्त प्रणालीका कारण बुधबार र बिहीबार तापक्रम घटेर हल्का चिसो बढ्न सक्ने सम्भावना रहेको छ। यस मौसमी प्रणालीका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। आउँदो शुक्रबारबाट क्रमशः सुदूरपश्चिम प्रदेशबाट मौसममा सुधार हुँदै जाने पनि महाशाखाले पूर्वानुमान गरेको छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल पश्चिमी वायुको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। साथै देशका तराई भू–भागका केही स्थानमा हुस्सु कुहिरो लागेको छ। दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भेगमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ।

kumari

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानका साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। ती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानका साथै पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: Jan 31, 2024| 08:28 बुधबार, माघ १७, २०८०
प्रतिक्रिया दिनुहोस्