आइतबार, भदौ १४, २०८३

बालकुमारी घटना जाँचबुझ आयोगको म्याद १५ दिन थप्न प्रस्ताव

 |  मंगलबार, माघ १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १६, २०८०

काठमाडौं- ललितपुरको बालकुमारीमा सुरक्षाकर्मीको दमनबाट दुई जना युवकको मृत्यु भएको घटना जाँचबुझ गर्न गठित आयोगको म्याद थप गर्न प्रस्ताव गरिएको छ। पुस १६ मा मन्त्रिपरिषद्ले पूर्व न्यायाधीश शेखर पौडेलको नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको थियो। आयोगमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक अरुण बिसी र सहसचिव नारायणप्रसाद भट्टराई सदस्य छन्।

आयोगलाई मन्त्रिपरिषद्ले एक महिनामा प्रतिवेदन पेश गर्न कार्यादेश दिएको थियो। तर, समय अपुग भएको भन्दै आयोगको तर्फबाट म्याद थप्नुपर्ने प्रस्ताव आएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए। ती अधिकृतले भने, ‘आयोगको तर्फबाट १५ दिनको समय थप्न प्रस्ताव आएको छ।’

सिंहदरबारमा कार्यालय स्थापना गरेर आयोगले पुस २० देखि जाँचबुझ शुरु गरेको थियो। पुस १३ मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शनमा प्रहरीले दमन गरेको हो। प्रहरीको दमनबाट दैलेख घर भएका सुजन रावत र अछामका वीरेन्द्र शाहले ज्यान गुमाएका थिए। सो घटनापछि ललितपुरका प्रजिअ र एसएसपी परिवर्तन भएका छन्। बालकुमारी क्षेत्रमा गोली हान्न आदेश गर्ने डिएसपी उमेश लम्साललाई निलम्बन गरिएको छ।  

हाल जिल्ला प्रहरी परिसर ललितपुरमा प्रहरी बरिष्ठ उपरिक्षक शेखर खनाल र प्रमुख जिल्ला अधिकारीमा तुल्सी बहादुर श्रेष्ठलाई पठाइएको छ।

प्रकाशित: Jan 30, 2024| 21:45 मंगलबार, माघ १६, २०८०
प्रतिक्रिया दिनुहोस्