पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अदालतले १० वर्ष जेल सजाय सुनाएको छ। साइफर मुद्दामा मंगलबार त्यहाँको विशेष अदालतले पूर्वप्रधानमन्त्री खान र पूर्व विदेशमन्त्री शाह महमुद कुरेसीलाई १०-१० वर्ष जेल सजाय सुनाएको हो।
पाकिस्तानी समाचार संस्था द डनका अनुसार सामान्य भाषामा साइफर भनेको गोप्य तरिकाले प्रस्तुत गरिने सूचना वा सन्देश हो। खान र कुरेसीले राज्यका गोप्य सूचनाको दुरूपयोग गरी चुहाएको आरोप छ। उक्त कागजातमा अमेरिकाले खानलाई प्रधानमन्त्रीबाट हटाउन धम्की दिइएको समाचार संस्था डनले जनाएको छ।
अमेरिकाले पठाएको उक्त साइफर खान अध्यक्ष रहेको पाकिस्तानी तहरिक-इ-इन्साफले फिर्ता नगरेको उल्लेख छ। अदालतले खानसँग यसबारे बयान समेत लिएको छ। बयानपछि पनि इजलासले खानसँग साइफरबारे सोधेको थियो, तर उनले त्यसबारे आफूलाई जानकारी नभएको बताएपछि १० वर्षको जेल सजाय सुनाएको हो।
‘मैले मेरो बयानमै भनिसकें कि मलाई थाहा छैन। साइफर मेरो अफिसमै थियो,’ उनले भनेका छन्। खान सन् २०२२ मार्चमा एक र्यालीमा सहभागी भएका थिए। प्रधानमन्त्री हुँदा अविश्वासको मत पाउनु अघिको उक्त र्यालीको मञ्चमा उभिएर एउटा कागज देखाउँदै उनले विदेशीले षड्यन्त्र गरी आफूलाई हटाउन खोजेको बताएका थिए।
यही फेब्रुअरी ९ मा पाकिस्तानमा आम निर्वाचन छ, जसमा खानको पार्टी पिटिआइ पनि सहभागी छ। चुनावको मुखैमा इमरानको सजाय सुनाइएको छ। इमरान र कुरेसी अहिले पनि जेलमै छन् फरक मुद्दामा। जेलभित्रैबाट उनीहरू दुवैले चुनाव लड्ने प्रयास गरेका थिए। कुरेसीलाई थारपरकार जिल्लाबाट चुनाव लड्न अनुमति पनि दिइएको थियो। तर आजको फैसलापछि चुनाव लड्न पाउने सम्भावना टरेको छ।