शनिबार, पुस ५, २०८२

काठमाडौंको तापक्रम घट्दो, तराईमा 'हाइ क्लाउड'

 |  आइतबार, माघ १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ १४, २०८०

काठमाडौं- काठमाडौं उपत्यकामा चिसो बढ्दो क्रममा रहे पनि आज तराईले भने केही राहत महसुस गरेको छ।  केही दिनअघिदेखि क्रमशः घट्दै गएर न्यूनतम तापक्रम २.२ मा झरेको काठमाडौँको तापक्रम आज त्यसभन्दा पनि तल झरेर २.१ डिग्रीमा आएको छ। 

National life

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम २.१ डिग्री अभिलेख भएको बताए। उनले आज सबैभन्दा कम जुम्लामा माइनस ४.९ र जोमसोममा माइनस ४.५ डिग्री रहेको पनि बताए। उनले आज तराईले भने केही राहत महसुस गरेको बताए। 

उच्च बादल अर्थात् पातलो बादल (हाई क्याउड) देखिएकाले तराईमा हुस्सु मात्रै रहेको तर बाक्लो कुहिरो नदेखिएकाले केही न्यानो महसुस भएको उनले जानकारी दिए। यो हाई क्लाउडले पानी भने नपार्ने उनले बताए। ‘खाली यसले तराईको हुस्सुलाई घटाएर पातलो बनाएको छ, आज साँझ ६ बजेको समयमा धेरै क्षेत्रमा एक हजार मिटरमाथि भिजिबिलिटी छ’, मौसमविद् अर्यालले भने, ‘जसले हिजोको भन्दा कम कुहिरो हुँदा घाम लागेर राहत मिलेको छ।’

मौसमविद्का अनुसार भिजिबिलिटी एक हजारभन्दा तल भएमा कुहिरो लाग्ने र त्यसभन्दा माथि भएमा हुस्सु भन्ने गरिन्छ। तराईमा भोलि पनि केही राहत मिल्ने तर जनजीवनमा भने चिसोले असर नै पार्ने भएकाले सचेत हुन आग्रह गरिएको छ। कतैकतै हुस्सु तथा कुहिरो पनि रहने बताइएको छ।

हिजो भने तराईका अन्य क्षेत्रको ‘भिजिबिलिटी’ अलि धेरै रहे पनि नेपालगञ्ज र धनगढीमा बाक्लो थियो। त्यहाँ तीन सय मिटरसम्म झरेको पनि मौसमविद् अर्यालले बताए। उच्च पहाडी भेगमा केही मौसम बदली रहेको र हिमाली क्षेत्रमा हिमपात भने जारी नै रहेको छ। 

Laxmi sunrise bank
kumari

विभागले आज साँझ ६ बजे सार्वजनिक गरेको विवरणअनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ। देशका तराईका केही स्थानमा हुस्सु लागेको छ।

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाइएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। सोमबार दिउँसोको अवस्थामा पनि उस्तै रहने जनाइएको छ। 

प्रकाशित: Jan 28, 2024| 21:13 आइतबार, माघ १४, २०८०
प्रतिक्रिया दिनुहोस्