काठमाडौं- नेकपा एकीकृत समाजवादी (एस)को विधान संशोधनका निम्ति छलफल जारी छ। आइतबार सुरु केन्द्रीय परिषद्को बैठकमा विधानको मस्यौदामाथि १० समूहमा छलफल भइरहेको छ।
प्रस्तावित विधानमा ‘पदाधिकारीको योग्यता’ शीर्षकमा सबै तहका पदाधिकारी एवं सदस्यले पार्टी स्कुलले सञ्चालन गरेको कक्षामा सामेल भई प्रशिक्षण लिएको हुनुपर्ने विषय थप गर्ने उल्लेख छ।
यस्तै, विधानमा कम्युनिस्ट आचारण र नैकितकमा पाँच विषय थप गर्ने प्रस्ताव गरिएको छ। पार्टीका नेता–कार्यकर्ताको आर्थिक र नैतिक आचरण शुद्ध हुनुपर्ने त्यसमा उल्लेख छ।
खानपान, रहनसहन, बसउठ आदि सरल र सामान्य हुनुपर्ने विषय थप गर्ने पनि प्रस्ताव गरिएको छ।
'पार्टीका नेता तथा कार्यकताहरूमा निजी स्वार्थको परित्याग गरी सामूहिक हित एवम् राष्ट्र, राष्ट्रियता, देश, जनता र श्रमजीवी वर्गको सेवामा समर्पित भएर लाग्ने उच्च क्रान्तिकारी नैतिकता हुनुपर्दछ,' नैतिकता र आचारणमा थप गर्ने प्रस्तावित बुँदा नम्बर–३ मा भनिएको छ।
कम्युनिस्टले अर्काको श्रमशोषण नगर्ने, श्रमप्रति सम्मानको दृष्टिकोण राख्ने, आफैँ पनि श्रम गर्ने, शुद्ध एवं पारदर्शी आर्थिक व्यवहार गर्ने र महिलाप्रति एकनिष्ठताका साथै समानताको व्यवहार गर्ने हुनुपर्ने भन्द्दे बुँदा थपिने उल्लेख छ।
पार्टी कमिटीका आकार घटाइने समेत उल्लेख छ। हाल २४ पदाधिकारीसहित ३५१ सदस्यीय रहेको केन्द्रीय कमिटीलाई १७५ बनाइने प्रस्ताव छ। जसमा ११९ पूर्ण र वैकल्पिक १६ केन्द्रीय सदस्य रहनेछन्। कुल संख्याको एकतिहाइ महिला राख्ने प्रस्ताव छ।
यसैगरी, ४५ सदस्यीय स्थायी र ११५ सदस्यीय पोलिटब्युरो कमिटी रहने व्यवस्थामा पनि परिवर्तन गरिने प्रस्ताव छ। जसमा पदाधिकारीसहित १९ सदस्यीय स्थायी र ५७ सदस्यीय पोलिट्ब्युरो रहने प्रस्ताव गरिएको छ।