शनिबार, पुस ५, २०८२

पानी जेटबोटले सहज बन्दै भोजपुरवासीको यात्रा

 |  आइतबार, माघ १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ १४, २०८०

भोजपुर- भोजपुरको दक्षिणी क्षेत्रका नागरिकलाई सडकका माध्यमबाट तराईका जिल्ला पुग्न निकै कठिन हुने गरेको थियो। पछिल्लो समय अरुण नदीमा पानी जेटबोट सञ्चालनमा आएपछि स्थानीयलाई यात्रा गर्न सहज भएको छ। 

National life

यसअघि यहाँका ठूला नदी दूधकोशी र अरुणमा पुल नहुँदा सवारीसाधन सञ्चालनका लागि स्थानीयले सास्ती भोग्दै आएका थिए। बर्सातको समयमा बाहेक हतुवागढी-९ कोप्चेबाट दैनिक जेटबोट सञ्चालन भइरहेको छ। दक्षिणी क्षेत्रका स्थानीय जेटबोट चढेर जलयात्रामार्फत धरान, इटहरी, विराटनगरलगायत ठाउँमा पुगेर घर फर्कने वातावरण बनेको स्थानीय इन्द्र थापाले बताए। भिरको बाटो तीनदेखि चार घन्टा पैदल हिँडेर चतरा पुग्नुपर्ने अवस्थामा जलयात्राले सहजता भएको उनको भनाइ थियो। 

जलयात्राबाट चतरासम्मको करिब १९ किमी दुरी २० देखि २५ मिनेटमा पुगिने थापाले जानकारी दिए। 'स्थानीयलाई आवागमनका लागि पानी जेटबोट सञ्चालनले धेरै सहज भएको छ', उनले भने, 'सडकका माध्यमबाट यात्रा गर्न नदीमा पुल छैनन्। बर्सातको समयमा अलि कठिन भए पनि हिउँदमा जलयात्रा गरेर एक दिनमा तराईका सहरमा पुगेर फर्कनसक्ने वातावरण बनेको छ।'

स्थानीयले १९ किमी यात्रा गरेको छ सय रूपैयाँ भाडा तिर्दै आएका छन्। अरुण नदीमा जेटबोट सञ्चालनले बिरामी हुँदा सहरका ठूला अस्पतालमा छिटो पुगेर उपचार गर्न सहजता थपिएको स्थानीय लालबहादुर प्रधानले बताए।

भोजपुर सदरमुकाम भएर लेगुवा, हिले, घनकुटा हुँदै तराई झर्न करिब दुई किमी पर्ने भन्दै दक्षिणी भेगका स्थानीयका लागि यो जेटबोटले धेरै सुगमता थपेकोे उनको भनाइ थियो। 'हामीलाई भोजपुर सदरमुकाम भएर यात्रा गर्न धेरै लामो दुरी हुन्छ', प्रधानले भने, 'जेटबोट सञ्चालनमा आएपछि कम समयमा यात्रा गर्न सकेका छौँ। बिरामी हुँदा चाँडो उपचार लिनसक्ने वातावरण बनेको छ। यसले दक्षिणी क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ।'

Laxmi sunrise bank
kumari

जेटबोट सञ्चालनले भोजपुर, धनकुटा र सुनसरीलाई पूर्वी तराईसँग जोडेको गाउँपालिकाले जनाएको छ। जलयात्रालाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ पर्यटन पूर्वाधारको विकासमा पालिका जुटेको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए। जेटबोट सञ्चालन भएसँगे हतुवागढी क्षेत्रबाट तराईका जिल्लासँगको दुरी छोटो पर्ने भएकाले यहाँको विकासमा टेवा पुग्ने उनको भनाइ थियो ।

अध्यक्ष राईले भने, 'दुई ठूला नदीमा पुल निर्माण गर्न ढिलाइ हुँदा सवारीसाधनको आवतजावतमा समस्या भएको थियो। जलयात्रालाई पर्यटनसँग जोडेर विकासमा जुटेका छौँ।' उनका अनुसार सवारीसाधन सञ्चालनका लागि भोजपुर र उदयपुरलाई जोड्ने चुहारको दूधकोशी र भोजपुर तथा धनकुटालाई जोड्ने सुनवालुवामा पुल नहुँदा स्थानीयलाई समस्या हुँदै आएको छ। यी दुवै नदीमा पुल बनाउने कामको थालनी गरिएको भए पनि निर्माणमा भने ढिलाइ भइरहेको छ।

यहाँका नदीमा पुल बनेपछि हतुवागढीबाट धरान, इटहरी, विराटनगरलगायत तराईका ठूला सहर करिब ६०/६५ किमीको दूरीमा मात्र रहने भएकाले पर्यटकको आवागमन बढ्ने अध्यक्ष राईले बताए। उनका अनुसार हतुवागढीबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, मकालु तथा कञ्चनजंघालगायत हिमाल र तराईका फाँटको अवलोकन गर्न सकिने भएकाले पर्यटनको राम्रो सम्भावना छ। 

गर्मीयाममा तराईबाट गर्मी छल्न, चिसो हावापानीमा रमाउन, मनमोहक दृष्यको दृष्यावलोकन गर्न तथा नयाँ पर्यटकीयस्थलको भ्रमण गर्न चाहनेका लागि यो स्थान महत्वपूर्ण गन्तव्य बन्ने अध्यक्ष राईले बताए। उनका अनुसार गाउँपालिकाले गौरवको आयोजनाका रुपमा घोडेटार बजार-गढी-सङ्खामचुली जोर आहाल-दिमालुंग पार्क जोड्ने पैदलमार्गको  निर्माण भइरहेको छ।

योसँगै विशेष गरेर किरात समुदाय आस्थाको केन्द्र खुवालुंगलाई शुभारम्भ प्रस्थान बिन्दुका रुपमा विकास गरी समुद्र सतहबाट एक सय ५३ मिटर उचाइ मात्र रहेको भोजपुरको सबैभन्दा होचो भूभाग माइबेनीलाई समेट्दै गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्रको बृहत्तर विकास गर्ने लक्ष्यका साथ काम भइरहेको अध्यक्ष राईले जानकारी दिए। रासस

प्रकाशित: Jan 28, 2024| 20:21 आइतबार, माघ १४, २०८०
प्रतिक्रिया दिनुहोस्