काठमाडौं- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान नगर्ने जनप्रतिनिधिको भूमिकाप्रति आपत्ति जनाएका छन्। उनले स्थानीय तह र प्रदेशसभाका जनप्रतिनिधिहरु स्वयम् मतदाता रहेको निर्वाचनमा समेत मत बदर भएको भन्दै त्यसलाई समेत आयोगले गम्भीरतापूर्वक लिएको बताए।
आइतबार राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो बताएका हुन्। 'जनप्रतिनिधिहरुले निर्वाचनमा भाग नलिने र मतदानको अधिकारको उपयोग नगर्ने कुरालाई सामान्यरुपमा लिन सकिदैन, यो कुरामा निर्वाचन आयोगको आपत्ति छ,' थपलियाको भनाइ थियो।
प्रमुख निर्वाचन आयुक्त थपलियाले मौन अवधि चलिरहेका बेला दलहरुले आचारसंहिता विपरीत गतिविधि गरेकोप्रति समेत असन्तुष्टि जनाएका थिए। 'राजनीतिक दलहरुबाट आचारसंहितालाई गम्भीरतापूर्वक नलिएको देखिन्छ। नेताहरुले मौन अवधिमा चियापान कार्यक्रम राख्ने, भीड जम्मा गरेर भेटघाट गर्ने जस्ता राजनीतिक गतिविधि नगरिदिएको भए मौन अवधिको अर्थ रहन्थ्यो,' उनको भनाइ थियो।
११ माघमा भएको निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ लगायत केही जनप्रतिनिधिहरुले निर्वाचनलाई बेवास्ता गरेका थिए।