काठमाडौं- अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक इन्डिकेटरहरू पोजेटिभ हुँदै आएको बताएका छन्।
शनिबारदेखि काठमाडौंमा सुरू भएको मार्केटिङ समिटमा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्रका सूचकांकहरू पोजेटिभ हुँदै गएकाले न्यारेटिभहरू पनि पोजेटिभ पनि बनाउन आवश्यक रहेको बताए।
‘अहिले हाम्रा सबै आर्थिक इन्डिकेटरहरु पोजिटिभ छन् । त्यसमा कुनै समस्या छैन । इन्टरनल इण्डिकेटरहरु पनि पोजेटिभ भइराखेका छन् । ब्याजदर घटेको छ । शेयर मार्केट उकालो लागेको छ,’ उनले भने।
उनले अब नकारात्मक न्यारेटभिहरूलाई पनि सकारात्मक बनाउनुपर्ने बताए।
‘पोजेटिभ न्यारेटिभ्स विकसित गर्न जरुरी छ । अहिलेसम्म हामीले धेरै नेगेटिभ कुराहरु गर्यौं,’ उनले भने, ‘त्यसले गर्दा हाम्रो आत्मविश्वास कमजोर भयो । अहिले पोजेटिभ इन्डिकेटर आइरहेको अवस्थामा हाम्रो व्यापार, व्यवसायको कन्फिडेन्स बढछ ।’
सकारात्मक सूचनाहरू प्रसार भएको खण्डमा लगानीकर्ताहरू पनि हौसिने उनले बताए। अहिले नेपालमा लगानीका लागि एथेष्ट इच्छाहरू प्रकट भइरहेको अर्थमन्त्री महतले बताए।
‘भारत, अमेरिका, चीनलगायतका देशहरु पनि नेपालमा लगानी गर्न धेरै इच्छुक छन्,’ उनले भने।अन्तर्राष्ट्रिय लगानी भित्र्याउन सकारात्मक सूचनाहरू प्रसारित हुनुपर्ने अर्थन्त्री महतको भनाइ छ।