सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • देउवाले भने - राजनीतिमा योगराज उपाध्याय र नुतन थपलियाको योगदान महत्त्वपूर्ण 

देउवाले भने - राजनीतिमा योगराज उपाध्याय र नुतन थपलियाको योगदान महत्त्वपूर्ण 

 |  शुक्रबार, माघ १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १२, २०८०

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले योगराज उपाध्याय र नुतन थपलियाले कांग्रेस र देश निर्माणमा दिएको योगदानबारे कांग्रेसले नेपालीहरूमा बुझाउन सक्नुपर्ने बताएका छन्।

शुक्रबार पार्टी स्थापनाको ७८ औं वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले थपलिया र उपाध्यायले नेपालको राजनीतिमा ठूलो योगदान दिएको बताए। उनले द्वय नेताहरूले दिएको योगदानबारे सबै नेपालीहरुलाई बुझाउन जरुरी रहेको बताए।

उनले भने, ‘योगराज उपाध्याय र नुतन थपलिया यी महान व्यक्तिहरु जो आज हामीले सम्मान गर्न पायौँ, उहाँहरुले धेरै ठूलो योगदान गर्नुभएको छ, नेपालका लागि। उहाँहरुका बारेमा हामी कितावहरु निकालेर भए पनि, लेखेर भएपनि हामीले सबैलाई बाँड्नुपर्छ। उहाँहरुले दिएको योगदानलाई सबै नेपालीहरुलाई यो कुरा बुझाउनुपर्छ। उहाँहरुको योगदानको जतिसुकै प्रशंसा गरेपनि कम हुन्छ। उहाँहरुलाई हामीले सधैँ सम्मान गर्नुपर्छ।’

पार्टीको ७८ औं स्थापना दिवसको अवसरमा कांग्रेसले उपाध्याय र थपलियालाई सम्मान गरेको हो। २००३ माघ १२ मा भएको अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशनमा उपाध्याय सहभागी भएका थिए। नेपाल विद्यार्थी संघ हुनुअघि गठन भएको छात्रसंघ गठनका लागि उपाध्यायले अगुवाई गरेका थिए।

बिपी कोईरालालाई २०१७ सालमा तत्कालीन सरकारले अपदस्थ गर्दा उपाध्याय १७ वर्ष निर्वासन गएका थिए। थपलिया भने नागरिक स्वतन्त्रताका लागि २००३ सालदेखि सक्रिय भएर लागेका थिए। शहीद शुक्रराज शास्त्रीसँग शिक्षा लिएका थपलिया २००७ को क्रान्तिको एक अभियानकर्ता समेत हुन्।

प्रकाशित: Jan 26, 2024| 17:29 शुक्रबार, माघ १२, २०८०
प्रतिक्रिया दिनुहोस्