वीरगञ्ज- हुलाकी सडकअन्तर्गत पर्साको वीरगञ्ज महानगरपालिका–१५ स्थित प्रतिमा चौकमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाइएका छन्।
केही स्थानीयले सडक अतिक्रमण गरेर संरचना बनाएपछि सडक निर्माण अवरुद्ध भएको थियो। अतिक्रमण गरी बनाइएका संरचना डोजर लगाएर संरचना भत्काएपछि सडक निर्माणको बाटो खुलेको छ।
महानगर प्रमुख राजेशमान सिंहको पहलमा सडक निर्माणको ठेक्का लागेसँगै अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको सडक डिभिजन कार्यालय हेटौँडाका डिभिजन प्रमुख इन्जिनियर राजेशकुमार यादवले बताए। उनका अनुसार रू ६९ लाख १५ हजारमा हुलाकी सडकको मापदण्डअनुसार आगामी जेठ ३० गतेभित्र सडक तथा नाला निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको छ।
ठेकेदार कम्पनीका सञ्चालक दीपु साहले अबको एक महिनाभित्रमा निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी काम थालिएको बताए। सडक निर्माणका लागि अवरोधका रुपमा रहेका संरचना हटेसँगै (साइट क्लियर भएसँगै) काम सुरु गरिएको उनको भनाइ थियो। ‘एक महिनाभित्रै सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी काम काम अघि बढाएका छौँ’, उनले भने।