काठमाडौं- राष्ट्रियसभाको निर्वाचनअन्तर्गत कोशी प्रदेशमा बिहीबार भएको निर्वाचनमा नेकपा (एमाले)की उमेदवार रुक्मिणी कोइराला विजयी भएकी छन्।
गठबन्धनकी उम्मेदवार नेकपा (माओवादी केन्द्र)की चम्पादेवी कार्कीलाई पराजित गर्दै कोइराला विजयी भएकी हुन्।कोइरालाले पाँचहजार ८६ मतभार प्राप्त गरिन्। कार्कीले चारहजार ९९२ मतभार प्राप्त गरिन्।
कोसी प्रदेशमा एमालेकी राष्ट्रिय सभा सदस्य उम्मेदवार कोइरालालाई सत्ता गठबन्धनका तीनजना सांसदले मतदान गरेका थिए। सत्ता गठबन्धनबाट क्रस मत तान्न सफल कोइरालाले राष्ट्रियसभाको यात्रा पक्का गरिन्।
उनले सत्ता गठबन्धनका तीनजनाको मत तानेकी हुन्। मतगणनामा कोइरालालाई ४९ जना सांसदले मत दिएको खुलेको छ।
कोसीमा एमाले र राप्रपाले गठबन्धन गरेका थिए। कोसी प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ सहित ४६ सांसद थिए। कोइरालाले एमाले-राप्रपा गठबन्धनबाहिरबाट तीन सांसदको मत तानिन्।
कोइरालाको पक्षमा ४९ जनाको मत खसेको हो। सत्ता गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीले ४४ जना सांसदको पाइन्। कोसीमा सत्ता गठबन्धनका ४७ जना सांसद छन्।