काठमाडौं- राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सदस्यका लागि आज मतदान भइरहेको छ। सातै प्रदेशका मतदान केन्द्रहरूमा बिहान ९ बजेदेखि मतदान सुरू भएको हो।
मतदान आज अपराह्न ३ बजेसम्म चल्नेछ। लगत्तै मतगणना गरी आजै मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ।
१९ सदस्यका लागि सत्ता गठबन्धन, एमालेलगायत ८ दलका ५१ उम्मेदवार छन्। सत्ता गठबन्धनबाट कांग्रेसका १०, माओवादीका ६, एकीकृत समाजवादीका २ र जनता समाजवादीका १ जना उम्मेदवार छन्।
कोशीमा एमालेले राप्रपासँग गठबन्धन गरेको छ। कांग्रेसबाट कोशीमा कृष्ण सिटौला, मधेशमा आनन्द ढुंगाना, बागमतीमा विष्णुदेवी पुडासैनी र जितजंग बस्नेत, गण्डकीमा किरणबाबु श्रेष्ठ र पदम परियार, लुम्बिनीमा विष्णुकुमारी सापकोटा, कर्णालीमा कृष्णबहादुर रोकाया र सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहरा उम्मेदवार छन्।
माओवादी केन्द्रबाट कोशीमा चम्पादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरूपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्द उम्मेदवार छन्।
एकीकृत समाजवादीले दोलखाका धनश्याम रिजाल र सावित्री विश्वकर्मालाई उम्मेदवार बनाएको छ। पुजा चौधरी जसपाको उम्मेदवार छिन्।
एमालेबाट बागमतीमा त्रिलोचन भट्ट, रोचकुमारी चौलागाइँ, ध्रुवराज विश्वकर्मा, विवेक देवकोटा, कर्णालीमा डिल्लीराज भट्ट, हिक्मत विश्वकर्मा, विमलाकुमारी शाही, सुदूरपश्चिममा सावित्रा घिमिरे, रामचन्द्र जोशी, ईश्वरीप्रसाद खरेल, गण्डकीमा हेमन्द्र शेरचन र सम्झना देवकोटा उम्मेदवार छन्।
त्यस्तै कोशीमा परशुराम अधिकारी र रुक्मिणी कोइराला उम्मेदवार छन्। लुम्बिनीबाट झपेन्द्रबहादुर बिसी, तुलसाकुमारी केसी, मधेसमा विजेता झा र उषा थरूनी उम्मेदवार छन्।