बिहीबार, पुस ३, २०८२

सडक बढाउँदा सबैलाई सास्ती

निर्माणाधीन सडकको केही खण्डमा मात्रै कालोपत्रे गरिएको भन्दै सडक विस्तारको काम चाँडो सम्पन्न भएमा चालक मात्रै नभएर यात्रुलाई पनि सहज हुने सवारी चालक बताउँछन्।
 |  बिहीबार, माघ ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ११, २०८०

नवलपुर- ‘मैले गाडी चलाउन लागेको २० वर्ष भइसक्यो। तर अहिलेको जस्तो बिग्रिएको बाटोमा गाडी चलाउनु परेको थिएन’, पृथ्वी राजमार्गमा बस सञ्चालन गर्दै आएका चालक बाबुराम सापकोटाले भने, ‘अहिले त गाडी चलाउँदै गर्दा पक्की सडक आए पनि सबै दुःख भुलिन्छ जस्तो लाग्छ।’

National life

पोखरा-नारायणगढ–बुटवल सडक खण्डमा २० वर्षदेखि गाडी चलाउँदै आएका तनहुँको बेलचौताराका चालक सापकोटाले आफूले गाडी चलाउन सुरु गरेपछि सबैभन्दा अप्ठ्यारो बाटो अहिले भएको बताए। सडक विस्तारका नाममा सबै एकैपटक भत्काउँदा गाडी चलाउनै कठिन हुने गरेको उनको भनाइ थियो।

‘कालोपत्रे उप्काइएको सडकमा गाडी चलाउँदा गाडी कतै बिग्रिन्छ कि, टायर केही हुन्छ कि भन्ने चिन्ताले कुदाउनै सकिँदैन’, सापकोटाले भने, ‘कालोपत्रे गरिएको सडकमा गाडी चलाउँदा बिग्रिएको सडकमा गुडाउँदा पाएका सबै दुःख भुलिन्छ।’ आफूले गाडी चलाउने यस खण्डको अधिकांश भाग भत्काइएको उनले जानकारी दिए।

निर्माणाधीन सडकको केही खण्डमा मात्रै कालोपत्रे गरिएको भन्दै सडक विस्तारको काम चाँडो सम्पन्न भएमा चालक मात्रै नभएर यात्रुलाई पनि सहज हुने सापकोटाले बताए। ‘सडक विस्तारको काम सुरु हुनु अगाडिसम्म पोखराबाट बुटवल बढीमा सात घण्टामा पुग्ने गरेका थियौँ’, उनले भने, ‘अहिले त थोरैमा पनि ११ घण्टा लाग्ने गरेको छ।’ पोखराबाट बुटवल पुगेर पुनः पोखरा पुग्दा गाडी मर्मत गर्नुपर्ने अवस्थामा पुग्ने गरेको सापकोटाको गुनासो छ।

पोखराबाट बुटवल जाँदै गरेको ग२ख २४६ नम्बरको बसमा भेटिएका यात्रु महेश घिमिरेले सडकको दुरावस्थाका कारण आफूले सार्वजनिक बस प्रयोग गर्न बाध्य भएको बताए। ‘मैले काठमाडौँमा रहेको पब्लिकेशन (पुस्तक प्रकाशन गृह)को बजार व्यवस्थापनको काम गर्दै आएको छु। यसअघि यस सडकमा मोटरसाइकलमा यात्रा गर्थेँ’, उनले भने, ‘सडकमा उड्ने धूलो, सवारी बिग्रिने डरलगायत कारणले मोटरसाइकलमा यात्रा गर्नुभन्दा सार्वजनिक यातायात प्रयोग गर्नु उचित लाग्यो।’

Laxmi sunrise bank
kumari

मोटरसाइकलमा यात्रा गर्दा पानी हालेको ठाउँमा चिप्लने तथा सडकमा उडेको धुलोका कारण गन्तव्यमा पुग्दा स्वास्थ्यमा समस्या देखिने गरेको घिमिरेको भनाइ थियो। ‘सडक विस्तारको काम सुरु भएको लामो समय बित्दासमेत आधा काम पनि नसकिनुले मुलुकको विकासको गतिलाई देखाउँछ’, उनले भने, ‘नेतृत्वको काम गर्ने शैलीमा परिवर्तन नआएसम्म देशमा नयाँ व्यवस्था आए पनि जनतालाई सास्ती मात्रै हुन्छ।’

साना–साना कुराबाट नागरिकले नयाँ व्यवस्थाको अनुभव गर्ने भएकाले पूर्वाधारसहितका अत्यावश्यक विषयमा नेतृत्व गम्भीर भएर काम गर्नुपर्नेमा घिमिरेले जोड दिए। उक्त खण्डमा सबैभन्दा बढी सडक बिग्रिएको अवस्थामा नारायणगढ–बुटवल खण्ड रहेको उनको भनाइ थियो।

पुरानो नारायणी यातायात प्रालिका उपाध्यक्ष अशोक पोखरेलले नारायणगढ–बुटवल खण्डका कारण व्यवसायीमात्रै नभएर चालक, यात्रु र स्थानीयवासीले समेत दुःख पाएका बताए। ‘सडकको अवस्थाका कारण गाडी बिग्रिएर व्यवसायीले दुःख पाएकै छौँ’, उनले भने, ‘गाडीमा सवार यात्रु, चालक तथा धूलोका कारण स्थानीयलेसमेत दुःख पाउने गरेका छन्।’

सडक विस्तारको काम सुरु भएको पाँच वर्ष बित्नै लाग्दासमेत कामले गति लिन नसक्नु दुखद् भएको पोखरेलको भनाइ थियो। ‘यात्रु बोकेर चालक निस्कन्छन्, सकुशल गन्तव्यमा पुग्ने हो कि होइन अनिश्चित हुन्छ’, उनले भने, ‘बीच बाटोमा गाडी बिग्रिएर चालकले फोन गर्ने गर्छन्। यात्रुलाई अर्को गाडीमा पठाएर गाडी बनाउँदा घाटाको व्यापार हुने गरेको छ।’ सडकको अवस्थाका कारण यस खण्डमा गाडी चलाउनु भन्दा गाडी थन्काउँदा राख्दा फाइदा हुने अवस्था आउन लागेको उनले गुनासो गरे।

यस सडकमा अझै पनि पुल, कल्भर्ट निर्माण गर्नका लागि डाइभर्सन गराउने तथा कालोपत्रे गर्नका लागि खनिएका सडकमा लामो समयसम्म बेससमेत नराख्दा समस्या थपिएको पोखरेलले जानकारी दिए।    -रासस

प्रकाशित: Jan 25, 2024| 06:02 बिहीबार, माघ ११, २०८०
प्रतिक्रिया दिनुहोस्