विश्व प्रशिद्ध युट्युबर मिस्टर बीस्टले ट्विटर (अहिले एक्स) मा एउटा भिडियो पोस्ट गरेर साढे २ लाख बढी डलर आम्दानी गरेका छन्। उनले पोस्ट गरेको एउटा पुरानो भिडियो १६ करोडभन्दा बढीले हेरिसकेका छन्।
अपलोड गरेको एक हप्तामा ‘$१ कार भर्सेस $१०० मिलियन कार’ शीर्षकको भिडियोमा १६ करोडभन्दा बढी भ्युज आएको छ। बीस्टले सार्वजनिक गरेको स्क्रिनशटमा ५१ लाख बढी इङ्गेजमेन्ट भएको देखिन्छ भने त्यसबापत उनले दुई लाख ६३ हजार ६५५ डलर आम्दानी गरेको बताएका छन् ।
पोस्टमा बीस्टले सो भिडियोबाट भएको आम्दानी अन्य क्रियटरले अपलोड गरेको भिडियोको तुलनामा बढी भएको उल्लेख गरेका छन्। सम्भवतः विज्ञापनदाताले उनको भिडियोको लोकप्रियता देखेका र त्यही भिडियोमा विज्ञापन देखियोस् भनेर बढी तिरेको हुनसक्ने बीस्टको अनुमान छ ।
त्यसैले पनि भिडियोमा सामान्यतः प्रयोगकर्ताले गर्ने प्रति भ्युजको आम्दानीको तुलनामा रकम बढी आएको हुन सक्ने उनको भनाइ छ। यसअघि उनले उक्त भिडियो युट्युबमा राखिसकेका थिए। अपलोड भएको चार महिनामा सो भिडियोमा २१ करोड ५० लाख बढी भ्युज छ । त्यसबाट उनले कति आम्दानी गरेका थिए भन्ने जानकारी बाहिर आएको छैन।
पछिल्लो समय ट्वीटरका रूपमा परिचित एक्सले क्रिएटरलाई उनीहरूले राखेको कन्टेन्टमा देखिने विज्ञापनको आधारमा एड रेभेन्यु (विज्ञापनबाट हुने आम्दानी) बाँड्दै आएको छ । बीस्टले आम्दानी परिक्षण गर्न एक्समा भिडियो अपलोड गरेपछि एक्सका मालिक एलन मस्कले पनि त्यसमा आफ्नो प्रतिक्रिया जनाएका थिए। तर, बीस्टले आम्दानी सार्वजनिक गरिसकेपछि भने मस्कले त्यस विषयमा हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।
मिस्टर बीस्टले एक्समा राखेको पहिलो भिडियोबाट प्राप्त आम्दानी १० जनालाई बाँड्ने घोषणा गरेका छन्। एक्समा एक पोस्ट राख्दै उनले भनेका छन्, “जसले यो पोस्ट रिपोस्ट गरेर मलाई फलो गर्छन्, त्यसमध्ये १० जनालाई म २५ हजार डलर दरले दिँदैछु ।”
मिस्टर बीस्टको असली नाम जिमी डोनाल्डसन हो। विश्वभर उनी खासगरी बालबालिका र युवामाझ लोकप्रिय छन्। युट्युबबाट मासिक लाखौं डलर कमाउने जिमी आफ्नो आम्दानीको केही हिस्सा सामाजिक काममा खर्च गरिरहेका छन्। युट्युबमा उनको मुख्य च्यानलका सब्सक्राइबर २३ करोड ४० लाख छन्। उनका अरु चार युट्युब च्यानल छन्।