काठमाडौं- निजगढ विमानस्थल बन्नुपर्छ भन्दै वकालत गरिरहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक स्वार्थका आधारमा विमानस्थल बन्न नहुने तर्क गरेका छन्।
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबारको बैठकमा उनले यस्तो बताएका हुन्। अध्यक्ष नेपालले भने, 'अहिले धेरै विमानस्थल गौचरन भएका छन् । ती सबै विमानस्थल सञ्चालन पनि हुन सक्दैन । हरेक सांसदलाई आफ्नो क्षेत्रमा विमानस्थल चाहिएको छ, त्यसमा राजनीतिक स्वार्थ जोडिनु भएन।'
भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नै सञ्चालन हुन नसकेको अवस्थामा उनले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाउने सर्वोच्च अदालतको फैसलालाई नै दुःखद भएको बताएका थिए।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले गहिरो अध्ययन गरेर सबैभन्दा उपयुक्त ठहर भएर काम अगाडि बढिसकेको अवस्थामा त्यसलाई रोक्न सही नहुने धारणा राख्ने गरेका थिए।