शुक्रबार, चैत २०, २०८२

चिसो छल्न रारा आइपुगे ३ सय ९२ पाहुना चरा

 |  मंगलबार, माघ ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ९, २०८०

मुगु- चिसो छल्न रारा आएका पाहुना चराको गणना गरिएको छ। रारा राष्ट्रिय निकुञ्जको कार्यालय मुगुले सोमबार नेपालकै ठूलो ताल रारामा चिसो छल्न आएका पाहुना चराको गणना गरेको हो।

National life

गणना कार्यमा निकुञ्जका कर्मचारी, नेपाली सेना, मध्यवर्ती समितिका पदाधिकारी र स्थानीयको सहयोग सहभागिता रहेको थियो। चरा गणना गर्न निकुञ्जले चार समूह बनाएर चराको सधै बसोबास गर्ने र तैरिने तालका निश्चित ठाउँमा खटाई सोमबार बिहान ९ देखि ११ बजेसम्म गणना गरिएको निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिए।

चारवटै टोलीले ल्याएका चराको सङ्ख्या, प्रजातिलाई छुट्याउँदा यो मौसममा साइबेरिया र मानसरोवरबाट चिसो छल्न सोमबारसम्म कोम्मोन कोड (मरुल) एक सय ७८, टुप्टेड डक (कालिजुरे हास) ८१, खोया हास तीन, हरियो टाउके हाँस एक, सुनजुरे हाँस एक सय १७ र सिउरी डुबुल्के हाँस १२ गरी कुल तीन सय ९२ पाहुना चरा रारा आएको पाइएको वरिष्ठ संरक्षण अधिकृत घिमिरेले बताए।

उनका अनुसार चिसो छल्न सयौँ चरा कैयौँ माइलको यात्रा गर्दै आउने क्रममा धेरै चराको समूहबाट छुटेर, बाटो बिराएर, थाकेर बाटोमै मृत्यु हुने गरेको र पुस तथा माघमा रारा पुगेका पाहुना चरा चार/पाँच महिनाको रारा बसाइपछि फर्किन्छन्। 

पुस र माघको चिसोमा रारा तालको पानी तातो हुने, पर्याप्त आहारा पाइने भएकाले चरा रारा आउने गरेका हुन्। पाहुना चरा निकुञ्जको मिलीचौर, ठाकुरज्यू मन्दिर, ओखरबोट, निजार क्षेत्रमा खोयाहाँस, कपनकुटलगायत चरा प्रशस्त देख्न सकिन्छ।

kumari

तालमा मिसिएका स-साना हिमखोलातिर पनि यी चरा उक्लिने गरेका छन्। चरा राति बास बस्न ताल नजिकका ढुंगेओढार र रूखमा आउने गरेका छन्। मङ्सिर सुरु भएपछि राराको तालदेखि जंगल क्षेत्रमा विभिन्न प्रकारका ठूला-साना चराचुरुंगी देखिनाका साथै चिरबिर आवाज सुनिने गरेको मुर्मा गाउँका स्थानीय नन्दसिङ रोकायाले बताए।

प्रत्येक वर्ष विश्वका विभिन्न चिसो ठाउँबाट चिसो छल्न रारामा विभिन्न प्रजातिका पाहुना चरा आउने गरेका छन्। कुन वर्ष कति पाहुना चरा आए भनेर निकुञ्जले चराको गणना गर्ने गर्दछ। 

प्रकाशित: Jan 23, 2024| 21:02 मंगलबार, माघ ९, २०८०
प्रतिक्रिया दिनुहोस्